इटहरी । अवैध रूपमा वित्तीय कारोबार गर्ने सिंहदेवी ज्वेलर्सका सञ्चालक दीपक गजमेर सर्वसाधारणको पैसा तिर्न नसकेपछि झुम्का कारागार चलान भएका छन् । बढी ब्याजदर दिने भन्दै उनले चार सयभन्दा बढी सर्वसाधारणलाई ठगी गरेका थिए । करिब १८ करोड बढी ठगी गरेको आरोपमा गजमेर पुर्पक्षका लागि जेल चलान भएका हुन् । सिंहदेवी ज्वेलर्स, सिंहदेवी मनी ट्रान्सफर, सिंहदेवी इण्डष्ट्रिज प्रा.लि.को नाममा अवैध रूपमा आर्थिक कारोबार तथा ठगी गरेको आरोपमा दीपक गजमेर, सीता विक, कमल विक र कृष्णबहादुर विकविरुद्ध सुक्मित गुरुङलगायत २ सय ७५ जनाले जाहेरी दिएका थिए । सर्वसाधारणबाट लिएको रकम दिन नसकेपछि उनीहरूको घरबार नै भत्किने अवस्था पुगेको थियो । जिल्ला अदालत सुनसरीमा ठगी तथा बिना इजाजत बैङ्किङ कारोबार गरेको मुद्दा दायर भएको थियो । मङ्गलबारको बहसबाट गजमेरलाई पुर्पक्षका लागि जेल चलान गरेको जिल्ला अदालत सुनसरीका श्रेस्तेदार नवराज आचार्यले जानकारी दिए । जाहेरवालाको तर्फबाट अधिवक्ता रमेशकुमार पोखरेल, अधिवक्ता प्रेमप्रसाद पोखरेल, सरकारी वकिल गोकुल निरौला अनि प्रतिवादीको तर्फबाट अधिवक्ता मोहन कोइरालाले बहस गरेका थिए ।