यासोक/ पाँचथरको कुम्मायक गाउँपालिकाले बजार अनुगनम गरेको छ । यसअघि जिल्ला प्रसाशन कार्यालय पाँचथरले बजार अनुगमन गर्दै आएको थियो । स्थानीयतहमा जनप्रतिनिधि निर्वाचित भएपछि भने बजारको नियमनकारी निकाय गाउँपालिका नै हुने भएकाले बजार अनुगमन शुरु भएको हो । यासोक बजारमा बुधबार गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङसहितको जनप्रतिनिधिको टोलीले बजार अनुगमन  गरेको छ ।  अनुगमनको क्रममा व्यवसायीले अन्तशुल्क इजाजत बिना नै व्यवसाय गरेको, मूल्यसूची, दर्ता र नवीकरण नगरी व्यवसाय सञ्चालन गरेको फेला परेको अनुगमनमा संलग्न प्रमुख प्रसाशकीय अधिकृत कोमलप्रसाद भट्टराईले बताए । बजारमा खाद्य र अखाद्य वस्तु तथा पेयपदार्थ, म्याद नाघेको सामग्री फेला परेको भन्दै यसलाई नियन्त्रण गर्न कार्यालयले व्यवसायीलाई निर्देशन दिएको भट्टराईले जानकारी दिए ।

कुम्मायक गाउँपालिकामा मात्रै २ सय ६५ वटा उद्योग व्यवसाय उद्योग वाणिज्य सङ्घ यासोकमा दर्ता भई सञ्चालनमा छन् । तीमध्ये पनि कतिपय व्यवसायीहरूले साइनबोर्ड, मूल्यसूची र पानबिल प्रयोग नै नगरी व्यावसाय सञ्चालन गरेको पाइएको भन्दै त्यस्ता व्यवसायीलाई करको दायरामा ल्याउन पहल गर्ने गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । उनले म्याद नागेका पेय र खाद्यवस्तु तत्काल व्यवस्थापन गरी अनिवार्य व्यवसाय दर्ता गरी सञ्चालन गर्न व्यवसायीलाई निर्देशनसमेत दिएका छन् ।  पहिलो पटकको अनुगमनमा व्यवसायीलाई सुझावमात्रै दिएको र दोस्रो पटकको अनुगमनमा पनि यस्तै कमिकमजोरी फेला परे कारबाही प्रकृया अघि बढाउने चेम्जोङले बताए । कार्यालयले प्रत्येक महिना बजार अनुगमन गर्ने निर्णय गरिसकेको छ । कुम्मायक गाउँपालिकाले आर्थिक वर्ष ०७५/७६ का लागि २५ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने महत्वकांक्षी लक्ष्य लिएको छ । लक्ष्यअनुसार व्यवसायीलाई करको दायरामा ल्याउन पहल गर्दै आएको छ ।