विराटनगर/सँगै जिउने सँगै मर्ने कसम खाएका प्रेमीबाट हत्या होला भनेर कसले सोचेको हुन्छ ? तर मोरङको ग्रामथान गाउँपालिका–३ सिद्राहामा शुक्रबार यस्तै एउटा घटना भएको छ । आफ्नै प्रेमीले विभत्स तरिकाले विराटनगर–१३ की २२ वर्षीय शिखा घिमिरेको हत्या गरेका छन् । सोही ठाउँका प्रेमी दिनेश भट्टराईले उनलाई विभत्स तरिकाले हत्या गरेका हुन् । दिनेशले शिखालाई धारिलो हतियार दाउ र चक्कु प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । मोरङका प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अनुसार उनीहरू घरबाट शिखाको को. १७ प १७२३ नम्बरको स्कुटरमा चढेर सिद्राहा पुगेपछि हत्या गरेको देखिन्छ ।
‘सिद्राहा पुगेपछि स्कुटर रोकेर दुवैबीच आपसमा विवाद भएको स्थानीयले देखेका रहेछन्’ केसीले भने, ‘विवाद बढ्दै जाँदा दिनेशले आफ्नो झोलामै बोकेको धारिलो हतियार निकालेर शिखामाथि प्रहार गर्न थालेको रहेछन् ।’ उनले शिखाको शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार गरेका थिए । शिखाको अनुहार, घाँटी, पेटलगायत शरीरका विभिन्न भागमा प्रहार गरेको देखिएको एसपी केसीले बताए । विभत्स तरिकाले हत्या गरी शव नहरको डिलमा फ्यालेर भाग्न खोज्दै गर्दा दिनेशलाई स्थानीय बासिन्दाले घेरा हालेर नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेका थिए । नियन्त्रणमा लिन खोज्दा उनले स्थानीयलाई समेत प्रहार गर्न खोजेको एसपी केसीले बताए । त्यस क्रममा गाउँलेसँग दोहोरो घम्साघम्सी हुँदा छुराले भट्टराईको हातसमेत काटेको छ । ‘सँगै स्कुटरमा गएका दिनेशले झोलामा दाउ र छुरासमेत बोकेर जानुले योजनाबद्ध हिसाबमा घटना गराएको देखिन्छ’ –एसपी केसीले भने । युवतीको चिन्नै नसकिने अवस्थामा शव फेला परेको उनले जानकारी दिए । प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग गरिएको दाउ, चक्कु र दुवैजना चढेर गएको को. १७ प १७२३ नम्बरको स्कुटर बरामद गरेको छ । पक्राउ परेका दिनेशलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखी अनुसन्धान शुरु गरिएको एसपी केसीले बताए ।
शिखाको अष्ट्रेलिया जाने सपना तुहियो लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले केही दिनअगाडि जिल्ला अदालतमा ‘कोर्टम्यारिज’ गरेका थिए । अध्ययनको लागि अष्ट्रेलिया जाने तयारी गरेकी शिखाको सपना आफ्नै प्रेमी दिनेशले तुहाइदिएका छन् । भिषा लागिसकेका कारण परिवारका सदस्यको सहयोगमा उनी अष्ट्रेलियाको तयारीमा जुटेकी थिइन् । त्यही योजना पूरा गर्न पारिवारिक सल्लाहमै उनीहरूले कोर्टम्यारिज गरेका थिए । दिनेश र शिखा नजिकका छिमेकी पनि हुन् । कोर्टम्यारिज गरे पनि दुवै आ–आफ्नो घरमा बस्दै आएका थिए । शिखाकी आमा सुरेखाका अनुसार भिषा लागिसकेको भए पनि अष्ट्रेलिया जानका लागि बाँकी प्रक्रिया पूरा गर्न शिखा शनिबार काठमाडौं जानुपर्ने थियो । त्यसका लागि शिखा दिनेशलाई लिएर विराटनगरबाट मोरङको बेलबारीमा आफन्तलाई भेट्न गएकी थिइन् । ‘काठमाडौं जानुपर्ने भएपछि खर्चको जोहो गर्न मेरै सल्लाहले छोरीलाई बेलबारी आफन्तकोमा पैसा लिन पठाएको थिएँ’ हस्पिटल परिसरमा भेटिएकी शिखाकी आमाले भनिन्, ‘बीच बाटोमै क्रुर तरिकाले मेरो छोरीको हत्या गरिएछ । हत्यामा संलग्न दोषीलाई कडा कारबाही हुनुपर्छ ।’