तेह्रथुम/ मेन्छ्यायेम गाउँपालिकाको मोराहाङ्गमा बन्दै गरेको माथिल्लो खोरुङ्गा खोला साना जलविद्युत आयोजनाको काम ५० प्रतिशत सम्पन्न भएको छ । साढे सात मेगावाटको जलविद्युत आयोजना तेह्रथुम पावर कम्पनीले निर्माण सुरु गरेको हो । ०७६ असार १ गतेसम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ काम धमाधम भइरहेको कम्पनीका अध्यक्ष भूपतिलाल श्रेष्ठले जानकारी दिए । आयोजना स्थलमा इन्टेक, पाइपलाइन एक्जाबेसन, पानी ट्याङ्की, सोलिङ, कनेक्टिङ प्यानल र पावर हाउसका लागि भवन निर्माण सम्पन्न भएको छ ।
१ अरब ३७ करोड लगानीमा निर्माण हुने आयोजना धौलागिरी र खड्का कृष्ण जेबी कन्ट्रक्सनले जिम्मा लिएको कम्पनीका अध्यक्ष श्रेष्ठले जानकारी दिए । ‘अहिले आयोजना क्षेत्रमा क्याम्प नै राखेर मजदुरहरूले काम गरिरहेका छन् । ‘अबको १ वर्ष भित्रमा बत्ती बाल्ने लक्ष्य रहेको छ ।’ अध्यक्ष श्रेष्ठले भने । आयोजना निर्माणका लागि १ सय बढी मजदुरले काम गरिरहेको इञ्जिनियर पुजन गौतमले बताए । जिल्लावासीको लगानीमा बन्ने उक्त आयोजनाको काम शुरु भएसँगै स्थानीयले समेत रोजगारी पाएका छन् । आयोजना निर्माणका लागि माछापुच्छ्रे बैक, एनबी बैङ्क र जनता बैङ्कले १ अरब लगानी गर्ने भए पछि काम शुरु भएको कम्पनीका अध्यक्ष श्रेष्ठले बताए । आयोजनाका लागि चाहिने अन्य ३७ करोडमा स्थानीयले १० प्रतिशत, सर्वसाधारणले २० प्रतिशत र प्रमोटरले ७० प्रतिशत लगानी गर्ने भएको आयोजनाका अध्यक्ष श्रेष्ठले बताए ।
यस अघि प्रवद्र्धक र विद्युत् प्राधिकरण बीच विद्युत खरिद सम्झौता (पीपीए) समेत भइसकेको आयोजनाका प्रबन्ध निर्देशक मोहन डाँगीले बताए । उनका अनुसार आयोजनाको काम शुरु भएकाले अबको ३३ महिना ०७६ पुष १ मा सम्पन्न गर्ने सम्झौता गरिए पनि आगामी असार १ गते सम्ममा पूरा गर्ने लक्ष्यले काम भइरहेको छ । सम्झौताअनुसार प्राधिकरणले उक्त कम्पनीको बिजुली हिउँद याममा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षा याममा चार रुपैयाँ ८० पैसामा खरिद गर्नेछ ।