बिर्तामोड । विकास निर्माणको कार्यमा सरकारको मात्र मुख ताक्नु हुदैन । आफ्नो क्षेत्र वा स्थानमा कुनै पनि विकास कार्यको थालनी आफैले गर्नुपर्छ ।
यस्तै उदाहरण भनेको छ झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ को विर्ता समावेशी टोल उपभोक्ता समिति । त्यस टोलमा ४४ घरपरिवारको वसोवास रहेको छ । उनीहरुले नगरपालिकाको साझेदारीमा एकहजार तीनसय ८० मिटरको ढल निकास निर्माण कार्य सम्पन्न गरेका छन् । ५८ लाख ७२ हजार ३ सय २५ रुपैयाँको लागतमा सम्पन्न भएको ढल निकासको विचमा २० फुटे बाटो समेत निर्माण भएको छ । त्यो बाटो पनि चाँडै कालोपत्रे गर्न पहल शुरु भएको छ । ४० प्रतिशत उपभोक्ता र ६० प्रतिशत नगरपालिकाको सहयोगमा ढलनिकासको काम सम्पन्न भएको समितिले शनिबार एक कार्यक्रमको आयोजना गरी जानकारी दिएको हो ।
समितिका अध्यक्ष धनबहादुर पन्धाकको अध्यक्षताको भएको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटी रहेको थिए । कार्यक्रममा बोल्दै शिवाकोटीले यो नमूना कार्य भएकोमा समितिलाई धन्यवाद समेत दिए । उनले बाटो र ढल निकास मात्र नभएर घर छेउमा कम्तिमा २ वटा रुख बिरुवा रोप्न समेत टोलवासीलाई आग्रह गरे । उनले नगरपालिकाले कौशी सब्जी खेतीको योजना ल्याएको बताउँदै त्यसका लागि नगरपालिकाले तालिम समेत दिने बताएका छन् । कार्यक्रमको बिशेष अतिथि तथा वडा नम्बर ४ का अध्यक्ष कुलप्रसाद संग्रौलाले यसै बर्ष ढल निकासपछि सम्पन्न २० फुटे बाटोलाई कालोपत्रे गर्न आवश्यक रहेको बताए । कार्यक्रममा वडा सदस्य कबिता डाँगी र निर्मला गजुरेलले पनि आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए ।
कार्यक्रममा ढल निकास कार्यलाई बिभिन्न तरिकाले सहयोग गर्ने बिकास गुरुङ, बिर्षबहादुर कार्की, रविन्द्र मैनाली, टंकप्रसाद तिम्सिना, मानबहादुर तामाङ र जेष्ठ नागरिक कुलप्रसाद चाम्लिङलाई सम्मान गरिएको थियो । उनीहरुलाई कदरपत्र तथा सम्मान–पत्रसहित सम्मान गरिएको थियो ।
स्वागत समितिका सदस्य भिमप्रसाद मैनालीले गरेको कार्यक्रमलाई सचिव भेषराज खड्काले सञ्चालन गरेका थिए । २०७४ भदौमा स्थानीयले निर्माण गरेको समितिले गत चैत २ गतेबाट ढलनिकासको कार्य शुरु थियो ।