रङ्गेली । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले ५ वर्ष भित्रमा प्रदेशलाई बालविवाह मूक्त घोषणा गर्ने बताएका छन् ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयले आयोजना गरेको प्रदेश स्तरीय बालिका सम्मेलनको उद्घाटन गर्दै बालिका सम्मेलनले प्रदेशलाई बालविवाह मूक्त प्रदेश घोषणा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले मानव जीवन परिवर्तनशील भएको भन्दै अजका बालिका नै भोलिको नयाँ नेपाल निर्माणको आधार स्तम्भ भएको धारणा राखे । उनले आजका किशोर किशोरीले नै भोलिको नयाँ नेपाल निर्माणको जिम्मेबारी काँधमा रहेको जिकिर गरे ।

उनले बालविवाह न्यूनीकरणका लागि प्रदेशका १४ वटै जिल्लामा एम्बासडर (दूत) राख्ने जानकारी दिए । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव ज्ञानराज सुवेदीले बाल हिंसा अन्त्य, बालबालिका विभिन्न अवसरबाट बञ्चित हुने अवस्थाको अन्त्यका लागि सम्मेलन फलदायी हुने बताए । किशोर उमेर सिर्जनात्मक उमेर भएको उनले बताए । उनले यस उमेरका बालबालिकालाई पढ्ने, सिकने अवसर दिनु पर्ने सचिव सुवेदीको भनाइ थियो । समाजको नेतृत्व गर्नेहरू बालविवाह गर्न नहुने बताउने तर बालविवाहकै निम्तो मान्न पुग्ने गरेको तीतो यथार्थ रहेको जिकिर गरे । बालविवाहका विरुद्धको कानुन भए पनि त्योभन्दा शक्तिशाली समाजको मान्यता, संस्कार र व्यवहारले गर्दा नियन्त्रण हुन नसकेको सचिव सुवेदीले बताए  । सम्मेलनमा प्रत्येक जिल्लाका स्थानीय निकायबाट प्रतिनिधिमुलक सहभागिता रहेको थियो । सहभागीले आ–आफ्नो धारणा राखेका थिए ।

सम्मेलनमा प्रदेश १ का १४ जिल्लाका १ सय ५० जनाको सहभागिता रहेको छ । बालबालिकाहरू जिल्लाका बाल सञ्जालबाट छनोट भएर आएका हुन् । प्रत्येक जिल्लाबाट १ जना किशोर र दुईजना किशोरीको सहभागिता रहेको छ । सम्मेलनको आर्थिक र प्राविधिक रूपमा वल्र्डभिजन इन्टरनेस्नल नेपाल, नारी विकास सङ्घ, प्लान इन्टरनेस्नल नेपाल र फरेनले सहयोग गर्ने छन् ।

कार्यक्रमका लागि १६ लाख४० हजार बजेटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । सहभागी जिल्लाका बालबालिकाले सम्मेलनमा आ–आफ्नो स्टल राखेका छन् । सम्मेलनमा बालविवाह, किशोर किशोरीको समस्या, बालहिंसालगायतका समस्यामा उनीहरूले छलफल गर्ने छन् । सम्मेलनको अन्त्यमा उनीहरूले घोषणा–पत्र जारी गर्ने छन् । सम्मेलन तीन दिनसम्म चल्ने छ ।