विकास प्राथमिकतामा
इटहरी । इटहरी–१९ ले आर्थिक वर्ष ०७४/ ७५ को वार्षिक समीक्षा गर्दै आर्थिक वर्ष ०७५/७६ को योजना तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
योजना सार्वजनिक गर्दै १९ नम्बर वडा कार्यलयले विकास निर्माणमा प्राथमिकता दिने बताएको छ । कार्यक्रमकी प्रमुख अतिथि रहेकी इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले विकास निर्माण गरी जनतालाई स्थानीय सरकार भएको महसुस दिलाएको बताइन् । इटहरी क्षेत्रमा विकास निर्माणको काम धेरै भएको उनको भनाइ थियो । इटहरी–१९ का वडाअध्यक्ष श्रीनारायण चौधरीले वडामा विकास निर्माणको कामलाई प्राथामिकताका साथ राखेको जनाउँदै चालु आर्थिक वर्षमा एक करोड २५ लाख रुपैयाँ खर्च गर्ने बताए । इटहरी–१९ विकासमा पछि पर्दै आएको वडा भए पनि जनप्रतिनिधि आएसँगै विकासले प्राथमिकता पाएको उनी बताउँछन् ।
कार्यक्रममा वडासदस्य खेम भारती, स्थानीय नेता सोमनाथ निरौला, दुर्गाप्रसाद पौडेल, लालबहादुर श्रेष्ठ, रामबहादुर बस्नेत, त्रिलोचन दङ्गाल, पदम तामाङ, हरिनारायण चौधरीलगायतले आफ्ना जिज्ञासा र सुझाव प्रस्तुत गरेको इटहरी–१९ का सचिव सञ्जीव खड्काले बताए ।