इटहरी । व्यवसायका आधारमा कर लिने व्यवस्था मिलाउन इटहरीका ब्यापारीले माग गरेका छन् । सरकारले जथाभावी बढाएको करले जनताको ढाड सेकेको भन्दै सरकारले कर लिने दायरा अवैज्ञानिक भएको व्यापारीहरूको गुनासो छ । सरकारले कर मनपरी उठाउन खोजिएको इटहरीका मेडिकल व्यवसायी पूर्ण राईले बताए । ‘सरकारले ठूला र साना व्यवसायी नछुट्याई मनपरी कर लिन खोजिएको छ ।’ राईले भने, ‘कर अव्यवहारिक भयो तत्काल करको दायरा सच्याइयोस् ।’ यता उद्योग वाणिज्य सङ्घ इटहरीका वरिष्ठ उपाध्यक्ष शैलेश विष्टले कर अव्यवहारिक भएका कारण इटहरी उपमहानगरपालिकालाई ध्यानार्कषण गराएको बताए । ‘व्यवसायको आधारमा कर लगाउन माग गरेका छौँ ।’ उनले भने । व्यवसायको प्रकृति नहेरी एकै प्रकारले कर लिँदा साना व्यवसायीहरू मारमा परेको गुनासो आइरहेका कारण उपमहानगरलाई ध्यानाकर्षण गराएको उनी बताउँछन् ।