पानवारी । धरान उपमहानगरपालिकाले विभिन्न शिर्षकमा बृद्धि गरेको करको विरोधमा नेपाली कांग्रेस आन्दोलित भएको छ ।विरोध सभामा नेपाली कांग्रेस धरानका सचिव श्याम पोखरेलले असक्षम र कसरी काम गर्ने भनेर नबुझेकाहरु कुर्सीमा पुगेको बताए । उनले अलमल भए मोबाइलमा फोन गरेर सोधेको भए बरु आफुले सिकाइदिने समेत बताएका थिए । नेपाली कांग्रेस धरान उपमहानगर कमिटिले शनिबार करबृद्धिको विरोधमा पार्टी कार्यालय लक्ष्मीचोकदेखि भानुचोकसम्म विरोध र्याली निकालेको थियो । र्याली भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा आइपुगेर विरोध सभामा परिणत भएको थियो । विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस धरानका सभापति तिलक राईले अव्यवहारिक रुपमा धरान उपमहानगरपालिकाले कर वृद्धि गरेको भन्दै त्यस विरुद्ध कर अवज्ञाको आन्दोलन गर्ने बताए । धरान उपमहानगरपालिकाले बृद्धि गरेको करको दर फिर्ता नहुन्जेलसम्म धरानबासीलाई कर नतिरी कर अवज्ञाको आन्दोलनमा सरिक हुन राईले आग्रह गरेका थिए । उनले भने –‘घरजग्गाको नामसारी र व्यक्तिगत घटना दर्ता जस्ता अति आवश्यक तथा राज्यकै दायित्वभित्र पर्ने विषयमा समेत कर थोपरेको छ, यसका विरुद्ध हामी आन्दोलित भएका हौ ।’ उनले धरान उपमहानगरपालिकाको हरेक निर्णय गर्दा जनप्रतिनिधीले नभइ कर्मचारीले गर्ने गरेको भन्दै कर्मचारीको चर्काे विरोध समेत गरेका थिए । सभामा धरानका पूर्व उपमेयर कृष्ण नारायण पलिखेले विराटनगरमा आन्दोलनकै कारण करवृद्धि फिर्ता भएको भन्दै धरानमा पनि करबृद्धि फिर्ता नहुन्जेलसम्म आन्दोलन गर्नुपर्ने बताए । उनले राम्रो काम जो सुकैले गरेको भएपनि आफ्नो समर्थन रहने भन्दै नेपाली कांग्रेसले गरेको आन्दोलनलाई समर्थन गरेको बताए । कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं. १ सुनसरीले बाडेको पर्चामा धरान उपमहानगरपालिकाले सम्पत्ति करमा २७५ प्रतिशतदेखि ३०० प्रतिशतसम्म, आन्तरिक राजश्वले लिइरहेको ३ हजार करलाई बढाएर ७ हजार २ सयसम्म पुर्याएको साथै जुत्ता चप्पले मर्मत गर्ने गरिब मजदुरलाई समेत वार्षिक एक हजार करको भार थोपरेको उल्लेख गरेको छ । कर समायोजन नहुन्जेलसम्म आन्दोलन गर्ने भन्दै भाेलि (आइतबार) धरान उपमहानगरपालिकामा कार्यवाहक मेयर मञ्जु भण्डारीलाई अल्टिमेटम दिइने र त्यसपछि थप कार्यक्रम घोषणा गरिने कांग्रेस नगर सचिव श्याम पोखरेलले जानकारी दिएका छन् । वडाध्यक्ष नै विरोध कार्यक्रममा धरान उपमहानगरपालिकाले करवृद्धि गरेको विरोधमा निकालिएको विरोध र्याली तथा सभामा वडाध्यक्षहरुनै सहभागी भएका थिए । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बू, धरान–१४का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई र धरान–१८ का वडाध्यक्ष प्रविण राई उपमहानगरपालिकाको विरोधमा सडकमा उत्रिएका थिए । धरान–१४ नं. वडाका वडाध्यक्ष कृष्णप्रसाद भट्राईले भने –‘जनताले थाम्न सक्ने गरी मात्र कर लगाउनुपर्छ, कर बढाउन करको दरमा मात्रै वृद्धि गरेर हुदैन यसको दायरा फराकीलो बनाउनुपर्छ र कर नतिरी छुटेकाहरुलाई करको दायरामा ल्याउनुपर्छ कर तिरिरहेका जनताहरुलाई झनै मार्ने गरी कर बढाउनु हुदैन ।’