सुनसरी । सुनसरीको धरान उमहानगरपालिका १८ का एक पतिले नयाँ कानूनअनुसार पत्नी विरुद्ध सम्बन्ध विच्छेदको मुद्दा शुक्रबार सुनसरी जिल्ला अदालतमा दर्ता गरेका छन् । पुरानो मुलुकी ऐन खारेज भई नयाँ मुलुकी देवानी (संहिता) ऐन २०७४ लागु भएपछि ऐनमा भएको व्यवस्थाअनुसार धरान उमनपा १८ का राजेश राईले पत्नीसँग सम्बन्ध विच्छेदको मुद्दा अदालतमा दर्ता गराएका हुन् । सुनसरी जिल्ला अदालतले पहिलोपल्ट नयाँ मुलुकी देवानी संहिता ऐन २०७४ को अभ्यास गर्दै परिच्छेद ३ सम्बन्ध विच्छेद सम्बन्धी व्यवस्थाको दफा ९४ (क), (ख), (ग) र (घ) अनुसार अधिवक्ता पदम लिम्बूले मुद्दा दर्ता गरेपछि नयाँ मुलुकी ऐनको आरम्भ गरिएको अदालतले जनाएको छ । यस अघि पुरुषले अदालतमा सोझै मुद्दा दर्ता गराउने प्रावधान थिएन । महिलाले मात्र सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्ने प्रावधान रहेको थियो । सो नयाँ मुलुकी ऐनको दफा ९४ मा पतिले सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था अनुसार पतिले पत्नीको मञ्जुरी नभए पनि सम्बन्ध विच्छेद गर्न सक्नेछ । नयाँ कानूनमा भएको व्यवस्था अनुसार कानूनबमोजिम अंश लिई वा मानो छुट्टिई पति–पत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समय देखि अलग बसेमा, पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरि दिएमा, पत्नीले पतिको अङ्गभङ्ग हुने वा अरु कुनै ठूलो शारीरीक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा र पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा भनी व्यवस्था गरिएको छ ।