सङ्खुवासभा ।  जिल्ला सदरमुकाम नजिकैको चिचिला गाउँपालिका–२ खेवाटारवासीले रकम सङ्कलन गरेर सडक मर्मत गरेका छन् । वर्षाले सडक बिग्रिएपछि उनीहरूले रकम सङ्कलन गरेर सडक मर्मत गरेका हुन् । उन्नति परियोजनाले निर्माण गरेको भ्याङ्खोला–तम्बे सडक खण्डको गैरी आङ्ला–खेवाटारको करिब १ किलोमिटर सडक मर्मत गरेका छन् । उक्त सडक प्रयोग गर्ने मोटर साइकल चालक, स्थानीय व्यापारीहरुले सङ्कलन गरेको १७ हजार ३ सय रुपैयाँले सडक मर्मत गरेका हुन् । सदरमुकाम खाँदबारीदेखि खेवाटारसम्म गाडी पुग्ने भएपनि सडकको समस्याका कारण सञ्चालन हुन सकेको थिएन । माथिबाट आएको पहिरोले सडक अवरुद्ध गरेपछि पहिरो हटाइएको स्थानीय गजबहादुर राईले बताए । पहिरो र वर्षाले सडक खाल्डो परेपछि सामान ढुवानी गर्नसमेत समस्या भयो, रकम सङ्कलन गरेर मर्मत गरेका हौं राईले भने । पहिरोले सडकबीचमा खसेको ठूला दुई ढुङ्गा फुटाउन र ग्राभेल गर्नलाई खर्च भएको राई बताए । खाल्डो पुर्न र सम्याउन १३ जनाले २ दिन श्रमदान गरेको राईले बताए । ‘यहाँ सडक बिग्रिएपछि सदरमुकामबाट खरिद गरिएका सामग्री एक किलोमिटर परदेखि नै बोकेर ल्याउनु पर्ने बाध्यता थियो, उनले भने, ‘धेरै सामग्री हुँदा महँगो मूल्य तिरेर मानिसलाई बोकाएर ल्याउनु पथ्र्यो ।’ सडक सञ्चालन भएपछि सिलिचोङ गाउँपालिका साविकका याफू र माङ्तेवा गाविसलाई समेत राहत पुगेको छ । यहाँ व्यापारीले समेत सडकको दुर्दशा भोग्नु परेको थियो । खेवाटारसम्म मात्र सवारी साधन पुग्ने भएकाले याफू र माङ्तेवाका व्यापारीले यहाँबाट महँगो मूल्य तिरेर मानिस र खच्चडलाई बोकाएर सामान ढुवानी गर्ने गरेका छन् ।