सुनसरी । मुलुकमा पुरानो मुलुकी ऐन २०२० लाई विस्थापन गर्दै नयाँ मुलुकी देवानी संहिता र फौजदारी संहिता लागू भइसकेको अवस्थामा जुनसुकै मुद्दाको लिखत बहस तर्क तथा प्रमाण कागजातको आधारमा निपष्क्ष न्याय सम्पादन गर्ने जिल्ला न्यायाधीश धर्मराज पौडेलले बताएका छन् । जिल्ला अदालत सुनसरी बार एशोसिएशनको ४७ औं वार्षिक साधारण सभा कार्यक्रममा प्रमुख अतिथिको रूपमा शुभकामना मन्तव्य राख्दै आफ्नो कार्यकालमा सेवाग्राहीलाई निष्पक्ष न्याय सम्पादन गर्ने न्यायाधीश पौडेलले बताएका हुन् । जिल्लाका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख वडा वडाअध्यक्षहरूलाई मुलुकमा लागू भएको नयाँ कानूनको बारेमा जानकारी गराउनु पर्ने प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए । त्यसैगरै जिल्ला न्यायधिवक्ता गोकुलबहादुर निरौलाले नयाँ मुलुकी ऐन लागू भएको दिन सबै कानून व्यवसायीले कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिए । उनले बारमा ई–लाइब्रेरी सञ्चालनका लागि रकमसमेत हस्तान्तरण गरे । सोही कार्यक्रममा वरिष्ठ अधिवक्ता हेमराज पोखरेलले मुलुकमा नयाँ कानून लागू भएसँगै न्याय सम्पादनमा शुद्धता ल्याउनका लागि बार एशोसिएशनले वाच डगको रूपमा भूमिका निर्वाह गर्नु पर्ने औँल्याए । अर्का वरिष्ठ अधिवक्ता रामप्रसाद घिमिरेले ऐन कार्यान्वयमा सबैले सहयोगी भूमिका निर्वाह गर्नु पर्ने साथै अदालतलाई सपार्ने बिगार्ने भूमिकामा अधिवक्ताहरू रहेकाले गलत भावना लिएर अगाडि नबढ्न आग्रह गरे । सोही कार्यक्रममा वरिष्ठ अधिवक्ता अर्जुन मेहताले प्रहरीले घाउ जाँच केस फारम लिन झण्झटिलो बनाएकाले सहजताका लागि बारले अग्रसरता देखाउनु पर्ने बताए । उद्घाटन कार्यक्रममा पूर्व अध्यक्ष शिवराज चौहान, निवर्तमान अध्यक्ष राजु ढकाल, नेपाल बारका उपाध्यक्ष केदार भण्डारीलगायतले शुभकामना मन्तव्य राखेका थिए । प्रहरी उपरीक्षक राजन अधिकारी, न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठ, नारायणप्रसाद दाहाललगायतको उपस्थित रहेको थियो । जिल्ला बार एशोसिएनले गरेका विभिन्न गतिविधिसहितको प्रतिवेदन सचिव शङ्करप्रसाद पोखरेलले प्रस्तुत गरेका थिए । कार्यक्रमको अध्यक्षता प्रेमप्रसाद पोखरेलले गरेका थिए । कार्यक्रममा ५० बढी कानून व्यवसायीको उपस्थिति रहेको थियो ।