वराहक्षेत्र । वराहक्षेत्रको बयरवन सामुदायिक वन उपभोक्ता समितिको नव निर्वाचित कार्य समितिलाई नेपाली काङ्ग्रेस वराहक्षेत्र १ र २ इकाइले सम्मान गरेको छ । शनिवार भएको बयरवन सामुदायिक वन समूहको चुनावमा नेपाली काङ्गे्रसका तर्फबाट विजयी उम्मेदवारलाई काङ्ग्रेस वराहक्षेत्रले सम्मान गरेको हो । उनीहरूलाई नेपाली काङ्गे्रस वराहक्षेत्र नगरपालिका नगर समितिका कार्यवाहक तथा वराहक्षेत्र १ र २ संयुक्त इकाई समिति सभापति नारायण नेपाल र काङ्ग्रेसका ओमकुमार शर्माले अबिर लगाई खादा ओढाएर अभिनन्दन गरेका हुन् । कार्यक्रममा बोल्दै काङ्ग्रेसका स्थानीय सभापति नारायण नेपालले निर्वाचित नव कार्य समितिलाई बधाई दिए । उनले वनको विकासको लागि चुनावमा नगएर आपसी सहमतिमा जान नमानेको नेकपालाई उपभोक्ताले गतिलो जवाफ दिएको बताए । अर्का नेता ओमकुमार शर्माले लथालिङ्ग रहेको वनको विकासको लागि नयाँ कार्य समिति लागिपर्ने भन्दै सबै मिल्नुको विकल्प नभएको बताए । १३ जना कार्य समितिको लागि भएको चुनावमा दुई वटा पार्टीले मात्र उम्मेदवारी दिएका थिए । उम्मेदवारी दिनेमा नेपाली काङ्ग्रेसबाट ९ र नेपाल कम्युनिस्ट पार्टीबाट ४ जना रहेको निर्वाचन मण्डलका सदस्य गोपाल बरालले बताए । विजयी हुनेमा नेकाका ९ जनामा अध्यक्षमा कर्णबहादुर खड्का, उपाध्यक्ष केशव दर्नाल, सचिवमा प्रविना विष्ट तथा सदस्यहरूमा देवी श्रेष्ठ, सविना श्रेष्ठ, अमरबहादुर मगर, मनु राई परियार, दलबहादुर मगर र पूष्पमाया पौडेल छन् । नेकपाका ४ प्रत्यासी मध्ये कोषाध्यक्षमा अम्बिका कार्की र अन्य ३ सदस्यमा रुद्र कुमारी भट्टराई, पूष्प पौडेल र प्रकाश राईले चुनिएका छन् । स्थानीय बिपी आधारभूति विद्यालयमा भएको चुनावमा खसेको ३२९ मतमा विजयी नेकाका अध्यक्षले १५८ मत प्राप्त गरेका थिए भने नेकपाका रामगोपाल खडका ११ मतले पराजित भएका थिए । उनले १४७ मत पाएका थिए । नव निर्वाचित अध्यक्ष कर्णबहादुर खड्काले समितिको पहिलो कार्य व्यक्तिगत बाँस लगाएर वन अतिक्रमण भएकाले त्यसलाई कडाइका साथ हटाउने बताए ।