पानवारी । नेपाली कांग्रेस धरान उपमहानगर कार्यसमितिले धरानमा भएको करवृद्धिको विरोध गर्दै आइतबार ज्ञापन पत्र बुझाएको छ ।

आइतबार धरान उपमहानगरपालिकाको मुख्य प्रवेशद्वार अगाडी नेपाली कांग्रेस धरानका सभापति तिलक राईले धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारीलाई ज्ञापन पत्र बुभाएका हुन् । ज्ञापन पत्र बुझाउदै नेपाली कांग्रेस धरानले माग पुरा गर्न १० दिने अल्टिमेटम समेत दिएको छ । ज्ञापन–पत्रमा ‘लामो १० दिन भित्रमा वृद्धि गरिएको करको बारेमा सम्बोधन नगरे त्यसपछि हुने आन्दोलनले पार्ने परिस्थितिको जिम्मेवार समेत नगरपालिकाको नेतृत्व हुनुपर्ने जनाएको छ । समय पछि निर्वाचित भएर आएका जनप्रतिनिधीले विकास र सेवामा ध्यान केन्द्रित गर्नुपर्नेमा उनीहरु आफ्नो सेवा सुविधामा मात्र ध्यान केन्द्रीत गरेको’ भन्दै त्यसको विरोध गरिएको छ । ऐनले नै निःशुल्क गर्नुपर्ने भनेर किटान गरेको जन्मदर्ता, मृत्युदर्ता, विवाहदर्ता, सम्बन्ध विच्छेद र बसाई सराईमा समेत कर लिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । त्यस्तै धरान उपमहानगरपालिकाको आर्थिक ऐन २०७४ ले व्यवस्था गरेको कर जनतालाई भारी परिरहेको भन्दै त्यसलाई तत्काल खारेज गर्न माग गरिएको छ । नेपाली कांग्रेस धरानका सचिव श्याम पोखरेलले बहुमतको दम्भ देखाएर कांग्रेसको मागलाई वेवास्ता गरे जुनसुकै कदम चाल्न तयार रहेको प्रतिक्रिया दिएका थिए । ज्ञापन पत्र बुझ्दै धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारीले अन्य नगरको तुलनामा धरानमा करको दर कम नै रहेको दाबी गरिन् । उनले भनिन् –‘अनुसार कांग्रेसले खबरदारी गरेर ज्ञापन पत्र बुझाएको छ, यसलाई मैले सकारात्मक रुपमा लिएकी छु । करको दर पुन हेरफेर गर्न सकिने अवस्था रहेछ भने त्यसलाई सच्याउन समेत तयार रहेकी छु ।’ ज्ञापन पत्र बुझाउदै कांग्रेस सभापती राईले कार्यान्वयनका लागी शुभकामना दिएका थिए भने कार्यवाहक मेयर भण्डारीले सजग गराएको भन्दै हेरविचार गर्ने बताएकी थिइन् । कांग्रेसले हिजाे शनिबार करवृद्धि विरूद्ध धरानमा र्याली निकाल्नुकाे साथै विराेध सभाकाे अायाेजना गरेकाे थियाे ।