पानवारी/ धरान उपमहानगरपालिकाले जारी गरेको बजार अनुगमन तथा व्यवस्थापन निर्देशिका–२०७५ अनुसार कार्य अघि बढेको छ ।

आइतबार धरान उपमहानगरपालिकामा कार्यवाहक मेयर मञ्जु भण्डारीको अध्यक्षतामा बसेको उपभोक्ता हित संरक्षण समितिको बैठकले निर्देशिका अनुसार काम अघि बढाउने निर्णय गरेको छ । बजार क्षेत्रमा गुणस्तर र तोकिएको मापदण्ड अनिवार्य रुपमा पालना गरी उद्योग, व्यापार, व्यवसाय र कारोबार गर्न प्रचार प्रसार तथा सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय समितिले गरेको छ ।

मासुजन्य वस्तुको विक्री वितरणलाई व्यवस्थित गर्न मासु व्यवसायीहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रम गर्ने निर्णय गरेको धरान उपमहानगरपालिकाका प्रेस संयोजक यागेशबाबु काफ्लेले बताए । उनका अनुसार विषादीजन्य पदार्थको विक्रि वितरण गर्ने व्यवसायीलाई समेत अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको छ ।

बजारमा खाद्य पदार्थको गुणस्तर कायम गर्न धरानमा रहेको केन्द्रिय प्रविधि क्याम्पस हात्तिसारसँग सहकार्य गर्ने निर्णय समेत गरेको छ ।बजार अनुगमन गर्न धरान उपमहानगरपालिकाले स्थानीय राजपत्र प्रकाशित गर्दै गत वैशाख २६ गते ‘धरान उपमहानगरपालिकाको बजार अनुगमन तथा व्यवस्थापन निर्देशिका, २०७५’ जारी गरिसकेको छ ।