तेह्रथुम । सदरमुकाम म्याङ्लुङ बजारमा निर्माण गरिएको वृद्ध चौतारीस्थलको आइतबार उद्घाटन गरिएको छ । सदरमुकाम म्याङ्लुङमा रहेका वृद्धहरुको सम्मानका लागि नगरपालिकाको आर्थिक सहयोगमा म्याङ्लुङस्थित रेडक्रस चोकमा निर्माण गरिएको वृद्ध चौतारीस्थलको उद्घाटन गरिएको हो । वृद्धवृद्धाहरुले दिनको समयमा आराम गर्दै भलाकुसारी गर्न सहज होस् भन्ने उद्देश्यले वृद्धचौतारी निर्माण गरिएको हो । म्याङ्लुङ नगरपालिकाको ७ लाख आर्थिक सहयोगमा निर्माण गरिएको वृद्धचौतारी स्थलको म्याङ्लुङ नगरपालिकाका मेयर सञ्जयकुमार तुम्बाहाङ्फेले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा मेयर तुम्बाहाङ्फे, प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईं, पूर्वसांसद् तेजमान तुम्बाहाङ्फे, वृद्धचौतारीस्थल निर्माण समितिका अध्यक्ष गिरिराज सुवेदी, जनमुक्ति पार्टीका केन्द्रीय सदस्य तथा अनुगमन समिति संयोजक रामबहादुर तुम्बाहाङ्फे, नेपाली काङ्ग्रेसका प्रतिनिधि टीका खुलाल, वडानम्बर १ का वडाअध्यक्ष इन्द्र तुम्बाहाङ्फेले आ–आफ्ना भनाइ राखेका थिए । कार्यक्रम ज्येष्ठ नागरिक सङ्घ तेह्रथुमका अध्यक्ष केदार ढुङ्गानाकोे अध्यक्षतामा सम्पन्न भएको हो ।