भद्रपुर । पूर्वी क्षेत्रका जिल्लाहरूसँगै झापामा पनि गर्मी ह्वात्तै बढेको छ । गर्मीका कारण सबै क्षेत्रको जनजीवन प्रभावित बन्दै गएको छ । गर्मीबढेसँगै पटक–पटक विधुत् अवरुद्ध हँुदा थप समस्या उत्पन्न भएको छ । गर्मीले सबैभन्दा बढी वृद्धवृद्धा र बालबच्चा यसको शिकार बनेका छन् । केही दिनदेखि वर्षा नभएका कारण तापक्रममा ह्वात्तै वृद्धि भएको छ । मनसुनी वर्षा तुलनात्मक रूपमा कम भई कडा घाम लागेपछि जिल्लाको तापक्रममा वृद्धि आएको विज्ञहरूको भनाइ छ । वायुमण्डल सफा भई घाम सिधा जमिनमा पर्ने भएकोले एक्कासि तापक्रममा वृद्धि आएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । मनसुन न्यूनचापीय रेखा नेपाललको तलतिर रहेकोले अहिले खण्ड–खण्डमा वर्षा हुने गरेको उनले बताए । भदौ ५ देखि मनसुनी गतिविधि पुनः सक्रिय भई देशको मध्य र पूर्वी भेगमा वर्षाको सम्भावना रहेको उनको भनाइ छ । पश्चिम भागमा केही सम्भावना देखिए पनि पूर्वी भागमा केही दिन लाग्ने उनको भनाइ छ । यो महिना गर्मी हुने नै सिजन भएकोले खासै आत्तिहाल्नु पर्ने अवस्था नआएको उनले जानकारी दिए । यति बढी गर्मी विगतका वर्षहरूमा नभएको भद्रपुर–१० का ९५ वर्षीय मानबहादुर काफ्ले बताउँछन् । ३४ सालदेखि झापा आएर बसे पनि यस्तो उत्पात गर्मी भने अनुभव नगरेको उनले सुनाए । गर्मीका कारण खान मन नलाग्ने र राति निदाउन पनि नसकिएको उनको भनाइ छ । गर्मीले व्यापार व्यवसाय समेत चौपट हुँदै गएको भद्रपुर बजारका कपडा व्यवसायी लक्ष्मण कानूले बताए । घामका कारण बजारमा मानिस नै नआउने गरेको उनले सुनाए । दिनभर पसल रूँगेरमात्र बस्नु परेको उनको भनाइ छ । आइतबार झापामा अधिकतम् तापक्रम ३७ दशमलव २ डिग्री सेल्सियस पुगेको छ । शुक्रबार ३६ डिग्री र शनिबार ३६ दशमलव २ डिग्री सेल्सियस पुगेको चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख पूर्ण चूडालले जानकारी दिए । आइतबार दिउँसो साढे १ बजेको यो मापन विस्तारै घट्दै जाने उनले बताए ।