पानवारी । परीक्षण बिनै नाङ्गो आँखाले हेरेको भरमा धरान उपमहानगरपालिका अन्तर्गतको पशु सेवा शाखाले बाहिरबाट ल्याइएको कुखुरा खानयोग्य भएको भनी प्रमाणित गर्ने गरेको पाइएको छ । मङ्गलबार धरानका मासु व्यवसायी मीनकुमार दाहालले ल्याएको ब्रोइलर कुखुराको जाँच गर्ने क्रममा पशु सेवा शाखाका प्रमुख तथा पशु चिकित्सक रामआशिष यादवले नाङ्गो आँखाले हेरेकै भरमा ‘मासु प्रयोजनको लागि उपयुक्त’ भनी प्रमाणित गरेका हुन् । अन्तरजिल्ला कुखुरा तथा अण्डा ओसार–पसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाण–पत्र लिएर मात्रै ओसार–पसार गर्नुपर्ने प्रावधान छ । तर व्यवसायी तथा चिकित्सकको मिलेमतोमा कुखुराको परीक्षण नै नगरी ओसार–पसार गर्ने गरेको पाइएको छ । दाहालले ल्याउँदै गरेको अवस्थामा मङ्गलबार बिहान अस्थायी प्रहरी चौकी तीनकुनेले नियन्त्रणमा लिएर पशु सेवामा पठाएको थियो । को. २ च १३३६ नं. र को. १ च ८००५ नं.को दुईवटा सवारीमा ल्याइएका ७ सय ५० वटा ब्रोइलर कुखुराको स्वास्थ्य परीक्षणको लागि पशु सेवा शाखा धरान अमरहाट पठाएको थियो । पशु सेवा केन्द्र अमरहाट अहिले धरान उपमहानगरपालिका अन्तर्गतको पशु सेवा शाखाको रूपमा रहेको छ । शाखाका प्रमुख तथा पशु चिकित्सक यादवले कुखुरा मासु खानयोग्य रहेको प्रमाणित गरेका थिए । तर उनलाई कुखुरा परीक्षण गर्न अधिकार नभएको भेटेरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र इनरुवाका पशु चिकित्सक डा. मनोजकुमार महतोले बताए । कुखुराको स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाण–पत्र दिने चिकित्सकको योग्यता बीबीएसटी एण्ड एएच उत्तीर्ण गरी नेपाल भेटेरीनरी काउन्सिलमा दर्ता भएको हुनुपर्छ । यस प्रावधानका आधार मान्दा यादव अयोग्य ठहरिन्छन् । उनले व्यवसायीसँग मिलेमतो गरेर कुखुरा स्वस्थ रहेको प्रमाणित गरिदिएको स्रोत बताउँछ । धरानमा राति नै बाहिरका कुखुरा भिœयाउने र त्यस्ता कुखुराको स्वास्थ्य परीक्षणसमेत नगरी ल्याउने गरेको स्रोत बताउँछ । निरोगिताको प्रमाण–पत्र बिना कुखुरा ओसार–पसार गरेको पाइएमा त्यस्ता कुखुराको अवस्था हेरी परीक्षण गर्न पठाउने र रोगी भेटिए तत्काल नष्ट गर्नुपर्ने प्रावधान छ । तर व्यवसायीसँगको मिलेमतोमा त्यस्ता कुखुरा छोडिँदै आएको छ । पशु सेवा शाखाका प्रमुख रामआशिष यादवले आफूलाई क्षेत्रीय कार्यालयका हाकिमले ‘कुखुराको परीक्षण गरी निरोगिताको प्रमाण–पत्र दिन मौखिक रूपमा अधिकार दिएको’ दाबी गरे । जिल्लामा यस्तो प्रमाण–पत्र दिने प्राविधिकको कमी भएकोले सजिलोको लागि आफूलाई त्यस्तो अधिकार क्षेत्रीय कार्यालय विराटनगरले दिएको बताए । यस विषयमा कुखुरा व्यवसायी मीनकुमार दाहालले आफूले स्वस्थ कुखुरा नै ल्याएको दाबी गरेका छन् । उनले बाहिरबाट ल्याउने कुखुराहरु प्रमाणित गरेरै ल्याउने गरेको पनि बताए । उनले यस विषयमा कसैसँग पनि मिलेमतो नभएको प्रष्ट्याए ।
मापसे गरी कार्यालयमा पशु सेवा शाखाका प्रमुख रामआशिष यादवले मङ्गलबार कार्यालय समयमा मादक पदार्थ सेवन गरेर आएको भनी धरान उपमहानगरपालिकाको कार्यालयमा उजुरीसमेत परेको छ । उजुरी पर्ने बित्तिकै धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन घिमिरेले कार्यालयमा उपस्थित हुन निर्देशन दिए पनि यादव उपस्थित भएनन् । यादवलाई २४ घण्टाभित्र लिखित जवाफ दिन उपमहानगरपालिकाले पत्र दिइसकेको प्रमुख प्रशासकीय अधिकृत सुमन घिमिरेले बताए । उनले भने, ‘मादक पदार्थ सेवन गरेको भन्ने सूचना पाउने बित्तिकै कार्यालयमा उपस्थित हुन भनेको थिएँ तर उपस्थित हुनुभएन । कार्यालयमा किन नआएको भनी लिखित जवाफ लेख्न पत्र पठाएको छु ।’