तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका र सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको सङ्गमस्थल पाथीभरा डाँडामा रहेको कुहिरोबाट पानी सङ्कलन गर्ने प्रविधि बिग्रिएपछि खानेपानीको समस्या भएको छ । तीनजुरे–मिल्के–जलजले क्षेत्रमा रहको पर्यटकीयस्थलमा घुम्न आउने पर्यटक र स्थानीय बासिन्दालाई लक्षित गरी निर्माण गरिएको कुहिरोबाट पानी सङ्कलन गर्ने प्रविधि बिग्रिएपछि खानेपानीको अभाव भएको हो । २ हजार ८ सय मिटरको उचाइमा पिउने पानीको मुहान नभएपछि दातृसंस्थाले निर्माण गरिदिएको कुहिरोबाट पानी सङ्कलन गर्ने प्रविधि बिग्रिएपछि पुनः मर्मत नगर्दा समस्या भएको स्थानीयवासी छिरिङ लामाले बताए । तीनजुरे–मिल्के–जलजले क्षेत्रमा रहेको पर्यटकीयस्थलमा घुम्न आउने पर्यटक र स्थानीय बासिन्दालाई लक्षित गरी नेपाल स्वास्थ्यको लागि (नेवा) ले कुहिरोबाट पानी सङ्कलन गर्ने प्रविधि एक दशकअगाडि स्थापना गरेको थियो । सो प्रविधि स्थापना गर्न करिब १८ लाख रुपैयाँ लागेको थियो । अहिले पानी सङ्कलन गर्न राखिएको जालीसँगै पानी जम्मा गर्ने ट्याङ्कीसमेत लथालिङ्ग भएकोे छ । पर्यटकीय तथा धार्मिकस्थल पाथीभरा मन्दिरमा आउने पर्यटकहरुका लागि दाताले निर्माण गरेको कुहिरोबाट पानी निकाल्ने जालीबाट केही वर्ष यहाँका स्थानीय र पर्यटकहरुलाई मनग्य खानेपानी पुग्ने गरे पनि अहिले जालीबाट पानी निस्कन छाडेकोले समस्या भएको लामाले बताए । डाँडामा राखिएको जालीमा हावा ठोक्किएपछि पानीको थोपा जम्मा हुने यो प्रविधिका लागि राखिएको जाली च्यातिएपछि कुहिरो नै ठोक्किन छाडेकोले यहाँ बनाइएको ट्याङ्कीसमेत रित्तै भएका छन् । अत्यधिक कुहिरो र सिरेटो चल्ने डाँडाका बासिन्दाहरुका लागि जालीबाट पानी आउन छाडेपछि पानी बोकेर खानुपर्ने बाध्यता रहेको छ । एक वर्षअगाडि जाली फेर्नका लागि खोजी गर्दा नेपालमा जाली नै नपाइएको सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष तुलसी सङ्ग्रौलाले बताए ।