घण्टाघर । व्यापारिक संस्था वराह ज्वेलरी इण्डष्ट्रिज प्रालि २४ वर्ष पूरा भएको छ । २४ औँ वार्षिकोत्सवका अवसरमा वराहले विभिन्न कार्यक्रमको आयोजना गर्यो । मञ्चमा पहिलोपटक वराह ज्वेलरी फेसन शो आयोजना गर्दै जातीय पहिरन झल्किने आधुनिक तथा परम्परागत गहनाको प्रदर्शनी भयो । कार्यक्रममा कलाकार विल्सन विक्रम राई (तक्मे बुढा) र गरिमा डान्स सेन्टरका कलाकारले प्रस्तुति दिए । अघिल्ला वर्षहरू झैँ वराहले रक्तदान कार्यक्रम आयोजना गर्दै ८ सय १ पिन्ट रगत सङ्कलन गर्यो ।
‘समृद्धिमा वराहको योगदान’ प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले वराह ज्वेलरीले धरानको समृद्धिमा योगदान गरेको बताए । ‘वराहले नाफामूलक व्यवसाय मात्रै गरेको अनुभूति मैले गरेको छैन, सामाजिक, धार्मिक, शैक्षिक, खेलकुद र गरिब जनताको पनि सेवा गरेको छ ।’ सभामुख भण्डारीले भने । वार्षिक उत्सवमा वराहज्वेलरीका अध्यक्ष शिव लामिछानेले वराह मूलतः एउटा व्यापारिक संस्था भए पनि सामाजिक र सेवामूलक कार्यलाई निरन्तरता दिँदै गएको बताए । वराहलाई अझैै व्यवस्थित बनाएर लैजाने योजनामा रहेको उनले बताए । ‘आगामी दिनमा हाल सञ्चालन भएका देश र विदेशमा सेवा र व्यवसायलाई व्यवस्थित र विस्तार गर्दै लगिनेछ,’ उनले भने, ‘यसका लागि सबैको सहयोग आवश्यक छ ।’
दर्जन बढी सम्मानित वार्षिकोत्सवमा वराहले पत्रकारसहित दर्जन बढीलाई सम्मान गरेको छ । धरानका अग्रज पत्रकार गिरिराज आचार्यलाई इन्द्र–वराह स्मृति पत्रकारिता सम्मानबाट सम्मानित गरिएको छ । उनलाई नगद १५ हजार प्रदान गरिएको छ । यस्तै पत्रकार निलिफा सुब्बा र रणध्वज लोहारलाई इन्द्र–वराह प्रोत्साहन पुरस्कारबाट पुरस्कृत गरिएको छ । उनीहरूलाई जनही ११ हजार १ सय ११ रूपैयाँ र सम्मानपत्र प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का सभामुख, वराहका अध्यक्ष लामिछाने, धरान शाखा प्रमुख मानबहादुर विश्वकर्मा (दियाली) र संस्थापक विष्णुमाया लामिछानेले उनीहरूलाई सम्मान गरेका हुन् । सोही अवसरमा वराहको अभिभावकत्वको भूमिका निर्वाह गर्ने अम्बरबहादुर लिम्बू, गङ्गाप्रसाद रेग्मी, सावित्रा राई, सोममाया लिम्बूलाई पनि विशेष सम्मानद्वारा सम्मानित गरियो ।
कर्मचारी र ग्राहक पुरस्कृत सोही अवसरमा वराहले उत्कृष्ट कर्मचारीलाई सम्मान र ग्राहकलाई पुरस्कृत गरेको थियो । वराह ज्वेलरीबाट सबैभन्दा बढी ज्वेलरी खरिद गर्ने ग्राहक पार्वती लिम्बू, देवी श्रेष्ठ, मधु श्रेष्ठलाई गोल्डेमेडलसहित सम्मान गरियो । आर्थिक वर्ष ०७३÷७४ को असार मसान्तसम्म १० हजार रुपैयाँदेखि १० लाख रूपैयाँसम्मको सामान खरिद गर्ने ७ हजार बढी ग्राहकहरूमध्ये ललित अग्रवाल, शान्ति श्रेष्ठलगायतलाई विभिन्न आकर्षक पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा गोल्डमेडलबाटै कर्मचारी सङ्गीता राई, रोमी राई, सुरज विक, धनबहादुर सिगौरे, रामकुमार बराइलीलाई सम्मान गरिएको थियो । कार्यक्रममा गोला प्रथाद्वारा एकजना ग्राहकलाई सुजुकी कम्पनीको जिक्सर मोटरसाइकल प्रदान गरिएको थियो ।
करोड बढीको राजस्व वार्षिकोत्सव समारोहमा स्वागत मन्तव्य राख्दै शाखा प्रमुख मानबहादुर दियालीले वराहले धरानको आर्थिक, पर्यटन, शिक्षा, स्वास्थ्य, धार्मिक, सांस्कृतिक, साङ्गीतिक सबै क्षेत्रको विकासमा भूमिका खेल्दै आएको बताए । उनले संस्थाले यस वर्ष मात्रै १ करोड रूपैयाँ बढीको राजश्व तिर्न सफल भएको बताए । ०५२ भाद्र ५ गते खुलेको वराहमा अहिले देशभर ५ सय जनाले प्रत्यक्ष रोजगारी पाएको बताए । वराहले यसै वर्षबाट मोरङको तेतरियामा १ करोड ५० लाख बढीको व्यवसायिक कृषि र पशुपालन सञ्चालनमा ल्याएको जानकारी दिए । ‘नुनदेखि सुनसम्म..’ नारा दिएर अघि बढेको बराहले धरान, चितवन, पोखरा, काठमाडौं, हङकङ, युके, दुबईमा कारोबार गर्दै आएको छ ।