विराटनगर/ विपन्न बिरामीलाई लक्षित गरी गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले सोमबार मोरङको भाउन्नेमा शिविर सञ्चालन गरी ३ सयभन्दा बढी बिरामीको निःशुल्क उपचार गरेको छ । बेलबारी–१० भाउन्नेस्थित महेन्द्र माध्यमिक विद्यालयमा गरिएको स्वास्थ्य शिविरबाट ३ सय ७ जना बिरामीले निःशुल्क उपचार सेवा लिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ । शिविरमा ६३ जनाको भिडियो एक्सरे, ४७ जनाको ल्याबटेस्ट र २३ जनाको ईसीजी गरिएको नोबेल अस्पतालका मार्केटिङ अफिसर सञ्जय मण्डलले जानकारी दिए । शिविरमा आँखा रोग, हाडजोर्नी तथा नशा सम्बन्धी समस्या र मेडिसिनमा बढी मात्रामा बिरामीले उपचार गराएका छन् । नोबेल अस्पतालका विशेषज्ञ डाक्टरसहित २२ जनाको टोली बिरामीको उपचारमा खटिएको थियो । शल्यक्रिया गर्नुपर्ने तथा गम्भीर प्रकृतिका ४९ जना बिरामीलाई थप उपचारका लागि शिविरबाट नोबेल अस्पताल रिफर गरिएको छ । शिविरबाट रिफर भएका बिरामीलाई अस्पताल ल्याउन गाडीको व्यवस्था मिलाउने गरिएको नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले बताए । ‘शिविरबाट नोबेलमा आएका बिरामीको अवस्था हेरी उपचारमा छुट र निःशुल्क उपचारसमेत गर्नेछौँ ।’ उनले भने । शिविरबाट नोबेलको सेवा पाएपछि राहत मिलेको उपचारमा आएका बिरामीले प्रतिक्रिया दिएका छन् । पथरिया र पेटको समस्याले सताएर शिविरमा पुगेकी भाउन्नेकी ७० वर्षिया फुलमाया कार्कीले नोबेलले गाउँ–गाउँमा शिविर गर्दै आएकाले उपचारमा धेरै सजिलो भएको बताइन् । स्थानीय बिन्दु कटुवाल र बलबहादुर कार्कीले पनि स्तरीय डाक्टर र सबै उपचार सेवासहित नोबेलले निःशुल्क शिविर गर्दै आएकाले गाउँ–गाउँका विपन्न बिरामीलाई उपचारमा धेरै सजिलो भएको प्रतिक्रिया दिए । विपन्न बिरामीलाई लक्षित गरी पूर्वी नेपालका गाउँ–गाउँमा निःशुल्क शिविर गर्दै आएको नोबेलले केही दिन अघि पनि मोरङको बैजनाथपुर र बेलवारीस्थित धरहरामा शिविर सञ्चालन गरी १ हजार ३ सय बिरामीको निःशुल्क उपचार गरेको थियो । नियमित निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको नोबेलले गत आर्थिक वर्षमा शिविरमार्फत ४९ हजार बिरामीको निःशुल्क उपचार गरेको छ ।