पथरीशनिश्चरे/प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीलाई झापाको गौरादहमा बुधबार नागरिक अभिनन्दन गरिएको छ ।
[caption id="attachment_91518" align="alignnone" width="900"] फायलफाेटाे[/caption]पछिल्लो अवधिको प्रधानमन्त्री बनेपछि दोस्रोपटक गृह जिल्ला आएका झापा ५ का सांसद समेत रहेका ओलीलाई गौरादह नगरपालिकाले भव्य अभिनन्दन गरेको हो । प्रम ओलीलाई नगरपालिकाका प्रमुख रोहितकुमार साह र मन्त्री कार्कीलाई उपप्रमुख गीता भेट्वालले अभिनन्दन पत्रद्वारा अभिनन्दित गरेका हुन् । सोही क्षेत्रबाट प्रदेश सांसदमा निर्वाचित कार्कीको गृहनगर गौरादह हो ।
कार्यक्रममा प्रदेश नम्बर १ मुख्य मन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री जगदीश कुसियतलगायतको उपस्थिति रहेको छ ।
परैबाट रिमोटले शिलान्यास
उता, सो दिन गौरादहको कार्यक्रम अघि कमल गाउँपालिका ७ लखनपुरमा रहेको प्रदेश स्तरीय आयुर्वेद चिकित्सालयको भवनको शिलान्यास गर्ने कार्यक्रम भएपनि प्रम ओलीले प्रत्यक्ष शिलान्यास गर्न पाएनन् । ५० शैयाको चिकित्सालयको सुविधा सम्पन्न भवनको शिलान्यास गर्न भब्य तयारी भएको भएपनि बाटो हिलो भएको भन्दै कार्यक्रमस्थलभन्दा करिव ७ सय मिटर टाढैबाट रिमोटबाट उनले शिलान्यास गरे ।
करिब ७ सय मिटर सडकमा दूइदिन अघि माटो र ग्रोभल बिछ्याइपनि हिलो भएको थियो । गाडि जान सक्ने अवस्था रहेपनि हिलोका कारण समस्या आउन नसक्ने भन्दै सो स्थलमा जाने कार्यक्रम रोकिएपछि टाढैबाट विद्युतीय शिलान्यास हुन पुगेको हो ।
प्रम ओलीले सडकमा नै उभिएर स्थानीयलाई अभिवादन गरे र सम्वोधन नगरी गौरादहको कार्यक्रमतर्फ लागे ।
सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलाममार्फत रविना खनाल जेभीले १७ करोड २९ लाख लागतमा २२ महिनाभित्र चिकित्सालयको भवन बनाउने सम्झौता गरेको छ । त्यहाँ ७५ मीटर लम्बाई र ४५ मीटर चौडाईको अढाई तले भवन निर्माण हुने छ ।
आर्थिक बर्ष २०६७/०६८ मा ३ हजार स्थानीयको हस्ताक्षर गरेर त्यहाँ आयुर्वेद अस्पताल बनाउन माग भएको थियो । २ बर्ष अघिदेखि मासिक रुपमा आर्युवेदिक स्वास्थ्य शिविर हुँदै आएको थियो ।