पथरीशनिश्चरे/प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिबाट कुनै आर्थिक लाभ नलिने आफु ‘राजनीतिक जोगी’ भएको बताएका छन् । प्रधामन्त्री ओलीले नेपाल कम्यूनिष्ट पार्टीद्धारा बुधबार विहान मोरङको पथरीशनिश्चरेमा आयोजित सभामा मन्तव्य व्यक्त गर्ने क्रममा सो कुरा बताएका हुन् । मोरङ ३ बाट निर्वाचित भानुभक्त ढकाल कानून मन्त्री बनेकोमा बधाई दिन आयोजित कार्यक्रममा बोल्दै ओलीले भने ‘आफु मुलुकलाई बदल्ने प्रतिज्ञा गरेर विना स्वार्थ मुलुकको बागडोर सम्हालेको हुँ । म जोगी भएर लाग्छु । अर्थात आफु पनि भ्रष्ट्राचार गर्दिन र अरुलाई पनि गर्न दिन्न ।’ पछिल्लो पटक मन्त्री बनेका ढकालले छलछाम नगर्ने र जनताको बाचा पुरा गर्ने समेत उनले दर्शाउँदै बधाई ज्ञापन गरे । मुलृुकमा हालसम्म १७ वटा कानून बनिसकेको र आवश्यक कानून असोज २ सम्ममा बनाइसक्ने उल्लेख गर्दै मोरङका जनताको सुकुम्वासी समस्या समेतको कानून बनाउन मन्त्री ढकाल तत्पर रहेको कुरा ओलीले हँस्यौलीशैलीमा व्यक्त गरे ।
उनले, तमोर नदीबाट उच्च बाँध बनाएर त्यहाँको पानी मोरङको चिसाङ खोलामा हालेर सिंचाईको व्यवस्था गर्ने, पूर्वपश्चिम तथा उत्तरदक्षिण रेलमार्ग सञ्चालन, पूर्वपश्चिम ६ लेण्डको सडक लगायत देशमा विकास निर्माणका गतिविधिमा क्रियाशिलता अघि बढ्दै गरेको चर्चा गरे । सदियौंअघि विद्धान एवम् ऋषिमुनीको थलो नेपालमा लामो समय शासकको बैमानीले विकासमा पछि परेको जनाउँदै त्यस अवस्थालाई चिर्दै लोकतान्त्रिक गणतन्त्रमार्फत मुलुकको समृद्धि अघि बढेको जनाए । यस क्रममा केहीले यसखाले समृद्धिको बाटोलाई गलत अर्थमा व्याख्या गर्दै डलरको बोली बोल्ने गरेको टिप्पणी समेत गरे । उनले थपे ‘सबै मानिस आआफ्नो ठाउँमा इमान्दारितापूर्वक लाग्ने हो भनें मुलुक समृद्ध बनिहाल्छ । त्यसका लागि सवै प्रतिवद्ध बनौं ।’
आफ्नो स्वागतमा आयोजित कार्यक्रममा कानून मन्त्री ढकालले सुकुम्वासी समस्या, नदी कटान नियन्त्रण, जातीय सांस्कृतिक संग्रहालय सहित आफुले निर्वाचनमा गरेका घोषणाहरु पुरा गर्न आफु प्रतिवद्ध रहेको जनाए । कार्यक्रममा उर्जामन्त्री वर्षमान पुनले ओली नेतृत्वको सरकारले दीर्घकालिन योजना बनाएर अघि बढेको प्रसंग अघि सारे । उनले उर्जाको क्षेत्रको प्रवद्र्धनमा बोल्दै अबको ५ वर्षभित्र १५ हजार मेगावाट उर्जा उत्पादन गर्ने लक्ष्य उल्लख गरे । २०८५ को दशकलाई उर्जाको दशक बनाउने योजनामा सरकार लागिरहेको समेत सुनाए । सिंचाईको व्यवस्थापनमा पनि उसैगरी सरकार लागि परेको उनको धारणा थियो । १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई कस्तो बनाउने भन्ने बारेमा अवको ६ महिनाभित्र ठोस दृष्टिकोण आउने बताए । उनले पथरीशनिश्चरेमै प्रदेशको गौरवको योजनाका रुपमा १ सय विगाहा वढी क्षेत्रफलमा बृहत जातीय सांस्कृतिक संग्रहालय बन्ने कुराले पर्यटन प्रवद्र्धनको समेत गतिलो काम गर्ने धारणा राखे ।
कार्यक्रममा, पथरीशनिश्चरे नगरपालिकाको तर्फबाट नगर प्रमुख दिलिपकुमार राईले संघीय सरकारसँग नगरको सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या, खोला तटबन्ध, पथरी डाइनिया सडक निर्माण, विद्युत प्रशाखाको माग रहेको ज्ञापनपत्र बुझाए । उनले प्रदेश सरकारका लागि नगरका मुख्य ३ वडा सडक निर्माणको माग गरे । पूर्व सांसद चण्डीप्रसाद राई, नेकपाका मोहन तुम्वापो र जहरमान लिम्बूले नगरको मुख्य समस्याका रुपमा रहेको बसोवासको समस्या समाधानमा जोड दिँदै त्यसका लागि आवश्यक नीति नियम निर्माण गर्न संघ र प्रदेशले समेत सघाउनु पर्ने माग राखे । उनीहरुले जग्गा ढालफाँड गरेर बस्नेहरुमाथि किर्ते जालसाँझ गरेर पछि अर्कै पक्षले जग्गा दर्ता गराएर अन्याय गरेको कुरा पनि राखेका थिए ।
सो अवसरमा, पथरी सुनचाँदी व्यवसायी संघले सो व्यवसायका समस्या, सुनाखरी माविले विद्यालयको भौतिक व्यवस्थापन सहितका माग राखेका थिए । पथरी उद्योग वाणिज्य संघले कानूनमन्त्री ढकाललाई बधाईपत्र प्रदान गर्यो । कार्यक्रममा, नेपाली कांग्रेस पार्टी त्याग गरी सुवास राई र रीना गुरुङ नेकपामा प्रवेश गरेका थिए । सुकुम्वासी समस्या समाधानको माग गर्दै कार्यक्रमस्थल बाहिर केहीले जसको जोत उसको पोत कायम हुनुपर्ने प्ले कार्ड सहित प्रदर्शन समेत गरेका थिए । पथरी बजारको कार्यक्रम सकेर सोही दिन आफ्नो गृह जिल्ला झापा लागेका प्रधानमन्त्री ओलीले कमल गाउँपालिकाको लखनपुरस्थित आयुर्वेदिक औषधालयको शिलान्यास र दिउँसो गौरादहमा कार्यकर्ता भेटघाट कार्यक्रममा सरिक भएका छन् ।
त्यस्तै, उर्जामन्त्री वर्षमान पुन मोरङको मिक्लाजुङतर्फको कार्यक्रममा सरिक भएका छन् । उनले मिक्लाजुङस्थित मधुमल्लामा सौर्यउर्जा उद्घाटन् कार्यक्रममा सरिक भएको त्यहाँबाट नविन कार्कीले जनाए । कानूनमन्त्री ढकाल भनें पथरीको कार्यक्रम सकेर कानेपोखरी, बेलबारी र सुन्दरहरैंचाका स्वागत कार्यक्रममा सरिक बन्ने पार्टीले जनाएको छ ।