[caption id="attachment_33203" align="alignnone" width="450"] फायलफाेटाे[/caption]

भद्रपुर । विद्यालय पठाउने क्रममा कपाल कोर्न नमानेपछि आमाको कुटाइबाट आठ वर्षीया छोरीको मृत्यु भएको छ । झापाको बिर्तामोड नगरपालिका ५ सुब्बा चोकस्थित २७ वर्षीया हेमन्ता कुरुङ्वाङ (लिम्बू)ले आफ्नै आठ वर्षीया छोरी सफलतालाई कुटपिट गर्दा उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । विर्तामोडका डिएसपी कृष्णप्रसाद कोइरालाल दिएको जानकारी अनुसार बुधबार बिहान विद्यालय पठाउने क्रममा कपाल कोर्न नमानेपछि हेमन्ताले छोरीलाई लाठीले कुटपिट गर्दा दाहिने कन्चट, ढाड र दुवै हातमा निलडाम बनाएकी थिइन् । आमाको कुटाइबाट गम्भीर घाइते भएकी सफलताको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डिएसपी कोइरालाले जानकारी दिए । घट्नापश्चात आमा हेमन्तलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जनाइएको छ ।