पथरी । पथरीशनिश्चरे –७, टाइगर चोकमा घरभएका १५ वर्षीय धड्कन राईको उपचारमा सहयोग गर्दिन परिवारले अपिल गरेको छ । दुई महिना अघिबाट ब्लडक्यान्सरले पीडित राईको परिवारले बुधबार पत्रकार सम्मेलनको आयोजनागरी सहयोगको अपिल गरेको हो । ब्लडक्यान्सरबाट पीडित बनेका धड्कनको हाल नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर ललितपुरमा केमोथेरापी उपचार भइरहेको छ । एउटा सामान्य परिवार र कमजोर आर्थिक अवस्थामा जसोतसो परिवार धान्दै आएका राई परिवारले उपचार गर्दै आएका छन् । अहिले सम्म २० लाख रुपैया भन्दा बढी रकम उपचारमा खर्च भैसकेको परिवारले जनाएको छ । उपचार गर्न जम्म ४२ लाख भन्दा बढी खर्च लाग्ने भएपछि सहयोगको हात फैलाएको उनकी आमा पञ्चमाया राइले भक्कानिदै बताइन् । पञ्चमायाले सबैले सक्ने सहयोग गरेर छोराको ज्यान बचाइदिन पत्रकार सम्मेलनमा आग्रह गरिन । स्थानीय युवाहरु तथा समाजसेवीहरुले मिलेर सहयोग संकलन गरिरहेको समाजसेवी लोककिरण न्यौपानेले बताएका छन । सबैले सानो सानो भएता पनि यथासक्य सहयोग र्न स्थानीय समाजसेवी जहरमान लिम्बूले समेत अपिल गरेका छन् । क्यान्सर पीडित राइले भर्खरै मात्र पथरीशनिश्चरेको बाल्मीकि बोर्डिङ स्कुलबाट एसईई पास गरेर काठमाण्डौँमा बस्दै आएका थिए । २ महिना अघि सामान्य बिरामी भएर चेकजाँच गर्दा ब्लड क्यान्सर भएको देखिएपछि उनलाई थप उपचारका लागि नेपाल क्यान्सर अस्पताल लगिएको उनकी आमा पञ्चमायाले बताइन । धड्कनलाई सहयोग गर्नका लागि राष्ट्रिय बाणिज्य बैँकमा रहेको खाता नं. २५६०००३०९६१० मा रकम जम्मा गर्न सकिने र सम्पर्कका लागि ९८२४३२७५३१ मा थप जानकारी लिन सकिने परिवारले जनाएको छ ।