विराटनगर । गत वर्षको साउनमा आएको अविरल वर्षासँगैकोे बाढीले भत्किएको मोरङको लोहन्द्रा खोलाको पुल उर्जा, सिंचाई तथा जलस्रोत मन्त्री वर्षमान पुन अनन्तले स्थलगत रुपमा बुधबार अवलोकन गरेका छन् । पुलको अवलोकनपछि मन्त्री पुनले बाढीले भत्किएको लोहोन्द्रा खोलाको पुलको निमार्ण कार्य यसै वर्षदेखी प्रारम्भ हुने प्रतिवद्धता जनाए ।
पुल बगाएपछि मोेरङको कसेनी र नेताचौकबीचको सडक सञ्जाल अझै जोडिन सकेको छैन भने मोरङ जिल्लाको आधाजस्तो कृषि भूमिमा सिंचाई सुविधा टुटेको छ ।
स्थलगत अनुगमन र निरीक्षण पछि मन्त्री पुनले यसै वर्ष पुल निर्माणको काम अघि बढाउने स्थानियलाई आश्वासन दिए । उनले यहि आर्थिक वर्षमा ठेक्का लगाउने र केही महिना पछि पुलको काम हुने स्थानीयलाई प्रतिवद्धता जनाए ।
सुनसरी मोरङ सिंचाई योजना अन्तरगत रहेको सो पुल जनताको आवतजावतसंगै खोलामाथिबाट पानी लैजाने दुई प्रयोजनबाट उपयोग भइरहेको थियो । त्यसको पुर्ननिर्माणमा सरकारले सहयोग गर्ने उनले बताए ।
मोरङ निर्वाचन क्षेत्र नम्वर ४ का सांसद अमनलाल मोदीको नेतृत्वमा स्थानीयले मंगलवार प्रधानमन्त्री केपि शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै सिंचाई र यातायात सेवा सूचारु गराउन माग गरेका थिए । प्रधानमन्त्रीकोसमेत आग्रहमा उर्जामन्त्रीले स्थलगत निरीक्षण गरेका हुन् ।
पुल भत्किएको एक वर्ष बितिसक्दा पनि निमार्ण गर्ने निकायले कुनै चासो नदिदा बर्खाको बेलामा स्थानियलाई आवगमनमा समस्या भएको छ ।
हिउँदो याममा अस्थायी रुपमा स्थानियले बाँसको पुल बनाएर काम चलाएपनि बर्खायाम सुरु भएपछि आवगमनमा समस्यामा भएको स्थानियको भनाई छ । यस पुलबाट दैनिक हजार बढी मोटरसाइकल र सयौं ट्रयाक्टर, ट्रक र बसहरु आवत–आवत गर्दै आएको थियो । पुल भत्किएपछि अहिले आवागमन ठप्प छ ।
फुल नबन्दा विराटनगर जानुपर्नेअहिले बेलबारी विराटचोक भएर वा कर्सियाबाट रंगेली हुँदै विराटनगर आउनुपर्ने बाध्यता रहेको स्थानिय गीता श्रेष्ठले बताइन् ।
सुनसरी मोरङ सिचाई योजनाले दिएको जानकारी अनुसार १ सय ६७ मिटर लामो पुल र त्यति नै लामो साइफन निमार्ण गर्नुपर्ने भएकाले ठूलो बजेट खर्च हुने बताइएको छ । पुल र साइफनका लागि ३० करोडभन्दा बढी रकम खर्च हुने सुनसरी मोरङ सिचाई योजनाले जानकारी दिएको छ ।