इटहरी । सुडेनीको गल्तीले गर्भवती महिलाको मृत्यु भएको पीडित परिवारले आरोप लगाएका छन् । गत साउन २५ गते गर्भवती बुहारी अनिसालाई अस्पतालमा देखाइएको थियो । घरमा ल्याएपछि पनि पेट दुखेपछि परिवारले स्थानीय सुडेनीलाई देखाएका थिए । मृतक अनिसाकी सासु सुमित्रा चौधरीले भनिन्, ‘अस्पतालबाट ल्याएर सुडेनीलाई देखायौँ, उहाँले बुहारीलाई मात्र कोठाभित्र राखेर अरूलाई बाहिर जान भन्नुभयो, कोठाभित्र बुहारीलाई राखेर त सुडेनीले पाठेघरमा हात हालेर बच्चा चलाउनु भएछ ।’ इटहरी– ११ की भसमेनी सरदारले अनिसाको पाठेघरमा हात हालेको पीडित परिवारको आरोप छ । ‘सुडेनीले बुहारीको पाठेघरमा हात हालेपछि भित्र पूरै प्वाल छ, अप्रेसन गर्नुपर्छ, सिलाई गर्नुपर्छ, भन्नेबित्तिकै हामी आतियौँ ।’ सुमित्राले सुनाइन् । मृतक अनिसाका ससुरा प्रदीप चौधरीले गाउँलेकै सल्लाहमा सुडेनी लगाउँदा बुहारीको अकालमा मृत्यु भएको बताए । सुडेनीलाई देखाएपछि पेट दुखेर अनिसालाई झन गाह्रो भएपछि पुनः विराट नरसिङ होममै उपचार गर्न लगेको सुमित्राले बताइन् । विराट नरसिङ होममा लाँदा त्यहाँ उपचार सम्भव नभएपछि अनिसालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएको थियो । बीपी प्रतिष्ठान लगेको दुई दिनपछि अनिसाको मृत्यु भएको थियो । सुडेनीले हात हालेर बच्चा मिलाउन खोज्दा उनको पाठेघर फुटेको स्थानीयको आरोप छ । अनमी, स्टाफ नर्सले गर्ने पेसा गाउँमा अन्धाधुन्ध गर्दा ज्यान गुमाउनु परेको खनारका सामाजिक अभियन्ता सचिन नेपालले बताए । अझै पनि धामी झाँक्रीले बिरामीलाई अस्पताल लानु पर्दैन भनेजस्तै सुडेनीको लापरबाहीले गर्भवतीको ज्यान गएको उनी बताउँछन् । स्थानीय विदेशीया सरदारले पनि सुडेनीकै कारण महिलाको ज्यान गएको बताए । गर्भवतीको पाठेघरमा हात हाल्ने सुडेनीलाई गाउँलेहरुले पनि खोजिरहेको स्थानीय बताउँछन् । ‘अहिलेको जमानामा पनि अर्कोको पाठेघरमा हात हाल्ने भसमेनीलाई खोजिरहेका छाँै ।’ सरदारले भने । भसमेनी हाल फरार रहेको स्थानीयले बताए । यता खनार प्रहरी चौकीका असई डिल्लीबहादुर भुजेलले हालसम्म सुडेनीलाई फेला पार्न नसकेको बताए । यसअघि इटहरीको खनार क्षेत्रमै प्रतिमा पराजुली कार्कीको समेत यस्तै प्रकृतिले मृत्यु भएको थियो । सुडेनीकैमा लगेका कारण प्रतिमाको मृत्यु भएको स्थानीय बताउँछन् । ‘सुडेनीको विश्वासमा पर्दा एकपछि अर्को घटना भइरहेका छन् ।’ स्थानीयले भने । डेढ वर्ष अघि इटहरी–११ का १७ वर्षीय सौगात चौधरी र अनिसाबीच फेसबुकमार्फत चिनजान भएपछि प्रेम विवाह भएको थियो । अनिसाको पेटमा ६ महिनाको गर्भ थियो । सेतो पानी जाने समस्याले अनिसा पीडित रहेको परिवारको भनाइ छ ।