पथरी । पथरीशनिश्चरे–७ टाइगर चोकमा घरभएका १५ वर्षीय धड्कन राईको उपचारमा सहयोग गरिदिन परिवारले अपिल गरेको छ । दुई महिना अघिबाट ब्लडक्यान्सरबाट पीडित राईको परिवारले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी सहयोगको अपिल गरिएको हो । ब्लडक्यान्सरबाट पीडित बनेका धड्कनको हाल नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर ललितपुरमा केमोथेरापी उपचार भइरहेको छ । एउटा सामान्य परिवार र कमजोर आर्थिक अवस्था जसोतसो परिवार धान्दै आएका राई परिवारले उपचार गर्दै आएको छ । अहिलेसम्म २० लाख रुपैयाँ भन्दा बढी रकम उपचारमा खर्च भइसकेको परिवारले जनाएको छ । उपचार गर्न जम्मा ४२ लाख भन्दा बढी खर्च लाग्ने भएपछि सहयोगको हात फैलाइएको उनकी आमा पञ्चमाया राईले भक्कानिँदै भनिन् । पञ्चमायाले सबैले सक्ने सहयोग गरेर छोराको ज्यान बचाइदिन पत्रकार सम्मेलनमा आग्रह गरिन् । स्थानीय युवाहरू तथा समाजसेवीहरूले मिलेर सहयोग सङ्कलन गरिरहेको समाजसेवी लोककिरण न्यौपानेले बताएका छन् । सबैले सानो सानो भए पनि यथासक्य सहयोग सबैले गर्न स्थानीय समाजसेवी जहरमान लिम्बूले समेत अपिल गरेका छन् । क्यान्सरपीडित राईले भर्खरै मात्र पथरीशनिश्चरेको बाल्मीकि बोर्डिङ स्कुलबाट एसईई पास गरेर काठमाडौंमा बस्दै आएका थिए । २ महिना अघि सामान्य बिरामी भएर चेकजाँच गर्दा ब्लड क्यान्सर भएको देखिएपछि उनलाई थप उपचारका लागि नेपाल क्यान्सर अस्पताल लगिएको उनकी आमा पञ्चमायाले बताइन् । धड्कनलाई सहयोग गर्नका लागि राष्ट्रिय वाणिज्य बैङ्कमा रहेको खाता नं. २५६०००३०९६१० मा रकम जम्मा गर्न सकिने र सम्पर्कका लागि ९८२४३२७५३१ मा थप जानकारी लिन सकिने परिवारले जनाएको छ ।