बिर्तामोड । झापा बिर्तामोडस्थित महेन्द्र रत्न माविलाई ‘नमूना विद्यालय’ बनाउन एक सय ३७ करोड रुपैयाँको लागत स्टिमेटसहितको कार्ययोजना कार्यान्वयनमा पूर्ण सहयोग गर्ने सरोकारवालाले प्रतिबद्धता गरेका छन् । स्थानीय जनप्रतिनिधि, राजनीतिक, विद्यालय प्रशासन, व्यवस्थापन पक्ष, विद्यालयको जग्गा उपभोग गर्ने किसान र अभिभावकका प्रतिनिधिबीच बुधबार बिर्तामोडमा भएको छलफलमा सहभागीले यस्तो प्रतिबद्धता जनाएका हुन् । माविलाई नमूना विद्यालय बनाउने सन्दर्भमा साढे नौ विगाह क्षेत्रफलमा त्यहाँ जग्गा भोगचलन गर्ने किसानलाई आन्तरिक सहमतिबमोजिम उचित व्यवस्थापन गरिने प्रतिबद्धता जाहेर गरेका छन् । छलफलमा बिर्तामोड नगर प्रमुख धु्रवकुमार शिवाकोटी, नेकपाका बिर्तामोडका अध्यक्ष ज्ञानुराम प्रसाईं, नेपाली काङ्ग्रेसका, लक्ष्मी आचार्य, विद्यालयका पूर्व अध्यक्ष, लोकबन्धु कन्दङ्वा, नेकपाका युवा नेता सीपी कडरिया, राप्रपाका शङ्कर रिजालले नमूना विद्यालयका लागि सबै राजनीतिक दलले निःस्वार्थ र निष्पक्ष ढङ्गले सहयोग गर्ने बताएका छन् । हाल बिर्तामोड–३ बिर्ताबजारमा रहेको मावि नमूना विद्यालयको भौतिक संरचना निर्माणसँगै वडा नं. ४, ५ र ६ को साढे नौ बिघे क्षेत्रमा स्थानान्तरण हुने प्रधानाध्यापक मनबहादुर लिम्बूले बताए । नमूना विद्यालय कार्यान्वयनका लागि नगरपालिकाको खातामा डेढ करोड रुपैयाँ आइसकेको उनले बताए । ८० प्रतिशत नेपाल सरकार र २० प्रतिशत एशियाली विकास बैङ्कको सहयोगमा शिक्षा विभागमार्फत् भौतिक पूर्वाधारले परिपूर्ण आधुनिक प्रविधिसहितको गुणस्तरीय शिक्षालयको रूपमा माविलाई ‘नमूना विद्यालय’ बनाउने योजना अघि सारिएको हो । एक सय ३७ करोडको लागत स्टिमेट तयार भए पनि नमूना विद्यालयका लागि अधिकतम् १२ करोड रुपैयाँसम्म मात्र बजेट आउन सक्ने प्रधानाध्यापक लिम्बूले बताए ।
नमुना विद्यालय बनाउन योजना
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































