मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिका र इलामको चुलाचुली गाउँपालिकाबीच भएर बग्ने नुनसरी खोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । मिक्लाजुङ–२ र चुलाचुली–६ को कुइनेटारमा निर्माण गरिएको झोलुङ्गे पुलको बुधबार जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेलले एक कार्यक्रमका बीच उद्घाटन गरे । १ सय २० मिटर लम्बाइ रहेको पुल जिल्ला समन्वय समिति मोरङको २७ लाख ७२ हजार ९ सय ४०, मिक्लाजुङ गाउँपालिकाको २ लाख ४ हजार, चुलाचुली गाउँपालिकाको १ लाख र जन श्रमदान १ लाख ६३ हजार गरी ३२ लाख ४० हजार तीन सय दुई रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । पुल बनेसँगै मिक्लाजुङका पाँच वटा वडाका वासिन्दालाई प्रत्यक्ष फाइदा पुगेको छ । यसअघि मिक्लाजुङ गाउँपालिकाका वडा नम्बर १ देखि ५ नम्बर वडाका वासिन्दालाई गाउँपालिका केन्द्र मधुमल्ला आउन उर्लाबारी हुँदै आउनुपर्ने बाध्यता थियो । १० देखि १५ मिनेटमा पुगिने गाउँपालिका केन्द्र आउन उर्लाबारी हँुदै करिब ३०–४० किलोमिटर दूरी पार गर्न बाध्य थिए स्थानीयवासी । ‘पुल निर्माण भएपछि ठूला गाडी नचले पनि मोटरसाइकल र पैदलयात्रु सहज रूपमा आवतजावत् गर्न पाएका छौँ ।’ मिक्लाजुङ गाउँपालिका–२ का वडाध्यक्ष गौरीप्रसाद राईले खुसी व्यक्त गरे । पुल बनेपछि स्थानीय उत्पादन बजारसम्म पु¥याउन सहज भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष रुद्रबहादुर बस्नेतले बताए । उनका अनुसार विद्यार्थीलाई बर्खामा ढुक्कका साथ विद्यालय आवतजावत् गर्ने वातावरण बनेको छ । झोलुङ्गे पुल उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका जिल्ला समन्वय अधिकारी रविन्द्रप्रसाद वस्ती, एमाले जिल्ला नेता मानबहादुर श्रेष्ठ, मिक्लाजुङ वडा नं. २ का वडाध्यक्ष गौरीप्रसाद राई, वडा नं. ८ का वडाध्यक्ष नवीन कार्कीलगायतको आतिथ्यता रहेको थियो ।