धरान । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ । बिहीबारसम्म पनि तलबाटै सहमति भएर नआए केन्द्रीय सचिवालयले माथिबाटै विवादित जिल्लाको नेतृत्व चयन गर्ने स्रोतले जनाएको छ । नेकपाका ७ वटा प्रदेश कार्यदलमध्ये अधिकांशले आफ्नो सिफारिससहितको प्रतिवेदन महासचिव विष्णु पौडेल समक्ष पेश गरिसकेका छन् । हालसम्म ६६ जिल्ला कमिटीको भागबण्डा टु‌ंगिएको छ । नेकपा स्रोतका अनुसार भागबण्डा भएका ६६ मध्ये तत्कालिन एमालेले ४० जिल्लामा अध्यक्ष पाएको छ भने तत्कालिन माओवादीले २६ जिल्लामा अध्यक्ष पाउने गरी सिफारिस गरिएको छ । प्रदेश २ का ८ जिल्लाको भागबण्डा अनौपचारिक रुपमा भए पनि औपचारिक रुपमा सिफारिस गरिएको छैन । प्रदेश १ मा एमालेले ताप्लेजुङ, पाँचथर, इलाम, झापा, धनकुटा, मोरङ, तेह्रथुम, सुनसरी, भोजपुरको नेतृत्व पाउने समझदारी भएको छ । माओवादीले संखुवासभा र खोटाङमा पाउने सहमति भए पनि ओखलढुंगा, सोलुखुम्बु र उदयपुरको भागबण्डा नमिलेका कारण कार्यदलले सिफारिस गर्न सकेको छैन ।