मोटर गाडी र हवाई जहाजमा यात्रा गर्दा रिङटा लाग्ने, वाक्वाकी आउने, असहज अनुभव गर्ने समस्याबाट पीडित हुनेहरूको संख्या कम छैन ।

बोलचालको भाषामा ‘गाडी लाग्नु’ भनिने यो समस्यालाई चिकित्सकीय भाषामा ‘मोसन सिकनेस’ भनिन्छ । यात्राको अवस्थामा यो धेरै यात्रुमा देखापर्छ, त्यसैले चिकित्सकको सल्लाहमा औषधि सेवन गरेर मात्र यात्रा गर्न चिकित्सकहरुको सुझाव छ । गाडी, हवाईजहाज र डुङ्गा आदिबाट यात्रा गर्दा धेरैजसो व्यक्तिलाई यस्तो समस्या देखिने हुन्छ । यो गम्भीर समस्या त होइन, तर यसले बेचैनी, पसिना आउने, रिङटा लाग्ने र वान्तासम्मको चक्रले व्यक्तिलाई आलश्य बनाउँछ । त्यसैले यात्राका बेला गाडी लाग्ने अर्थात् मोसन सिक्नेसको समस्या छ भने चिकित्सकको सल्लाह लिएर औषधि सेवन गरेर यात्रा गर्न चिकित्सकको सुझाव छ । गाडी लाग्नु भनेको व्यक्ति विशेषको शरीरको सन्तुलनलाई अनुभव गर्ने अवस्थासँग जोडिएको समस्या हो । यात्रा गर्दा शरीरका इन्द्रीयहरु आँखा, कान आदिले सन्तुलित ढङ्गबाट आ–आफ्नो कार्य गर्न नसक्दा मोसन सिक्नेस अर्थात् यात्राजन्य बान्ता उत्पन्न हुने चिकित्सकहरु बताउँछन् ।

मोसन सिक्नेसबाट बच्ने तरिकाः गाडीमा बसेको बेला सिधा हेर्ने गरे यो समस्या कम हुन्छ । आँखाको दृष्टि झ्याल छेउछाउका वस्तुमा भन्दा टाढा केन्द्रित गर्नुपर्छ । गाडीको पछिल्लो सिटमा बस्दा गतिको अनुभूति बढी हुन्छ, त्यही भएर गाडी लाग्ने अर्थात् मोसन सिक्नेस भएकाहरूले सम्भव भएसम्म गाडीको अगाडि बस्नुपर्छ । गाडी लाग्ने व्यक्तिहरूले यात्रा गर्नुअघि प्रोक्लोरपेराजिन वा जेनरिक नाम भएको औषधि सेवन गर्दा राहत मिल्छ । कसलाई हुन्छ मोसन सिक्नेस ?  दुई वर्षदेखि बाह्र वर्षसम्मका बालबालिका यस्तो समस्याप्रति अति संवेदनशील हुन्छन् । महिलालाई पनि बढी मोसन सिक्नेस हुने गर्दछ । गर्भवती, रजस्वला भइरहेका वा हार्मोन लिइरहेका महिलाहरूलाई पनि गाडी लाग्ने अर्थात् मोसन सिक्नेस हुन्छ । माइग्रेन भएकाहरूलाई समेत बढी मोसन सिक्नेस हुने गर्दछ ।