धरान/कन्चनपुरको महेन्द्रनगरमा १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शनमा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागि १० जना घाईते भएको र २ जनाको अबस्था गम्भिर रहेको सुचना स्थानीय सञ्चारमाध्यमले दिएका छन् ।

बलात्कार र हत्यामा संलग्नलाई कारबाही गर्न प्रशासनले देखाएको उदासिनताविरुद्ध आन्दोलनमा उत्रिएका सर्वसाधारणमाथि बिहीवार प्रहरीले गोली चलाएको हो । घाइतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । अस्पताल प्रशासनबाट आन्दोलनमा घाइतेभएकाहरुमध्ये आन्दोलकारीतर्फ ७ जनाको नाम प्राप्त भएको छ ।

घाइते हुने आन्दोलनकारीमा स्थानीय अर्जुन भण्डारी, तेज भट्ट, किरण प्रसाद पाण्डे, सरोज खड्का, विरित पनेरु र सन्तोष कुमार कठरिया छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । गम्भीर अवस्थाका अर्जुन भण्डारी र तेज भट्टलाई अन्यत्र रेफर गरिएको अस्पतालले जनाएको छ । गम्भीर घाइते भण्डारीको खुट्टा र भट्टको टाउकोमा चोट लागेको जनाइएको छ ।