बिर्तामोड/झापाको ऊँ नमःशिवाय बचत तथा ऋण सहकारी संस्था बिर्तामोड–५ ले आर्थिक वर्ष २०७४/७५ मा २ करोड ३३ लाख ७२ हजार ९ सय ९६ रुपैयाँको कारोबार गरेको छ । काँकडभिट्टामा भएको छैटौ वार्षिक साधारणसभामा संस्थाका लेखा समिति संयोजक इन्द्रमणि पौडेलले प्रस्तुत गरेको प्रतिवेदनमा सो कुरा उल्लेख छ । संस्थाको शेयरपुँजी एक करोड ४४ लाख २४ हजार ३ सय रुपैयाँ रहेको छ । विभिन्न कोष गरेर ११ लाख ६५ हजार ४ सय १५ रुपैयाँ रहेको छ भने निक्षेपमा ६९ लाख ७ सय ५६ रुपैयाँ रहेको लेखा समिति संयोजक पौडेलले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले एक करोड ९६ लाख ३७ हजार ७ सय ६६ रुपैयाँ लगानी गरेको छ, भने बैंक मौज्यात १२ लाख १३ हजार ३ सय ३८ रुपैयाँ रहेको प्रस्तुत प्रतिवेदनमा छ । यस आर्थिक वर्षमा संस्थाले एक लाख ३१ हजार ९० रुपैयाँ नाफा गरेको प्रतिवेदन संयोजक पौडेलले प्रस्तुत गरेका थिए ।  संस्थाका अध्यक्ष भरतलाल गिरीको अध्यक्षतामा भएको कार्यक्रम दशनामी समाजका बयोबृद्ध अमरबहादुर गिरीको प्रमुख आतिथ्यता रहेको थियो । संस्थाका अध्यक्ष गिरीले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक बर्ष २०७५/७६ का लागि ३ करोड ४२ लाख ४५ हजारको अनुमानित बजेट प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संस्थाका प्रशिक्षक गोविन्दबिक्रम गिरी, नेपाल दशनामी समाज झापाका पूर्व अध्यक्ष चन्द्रप्रसाद गिरी, जिल्ला सचिव शिव गिरी, समाजका केन्द्रीय सल्लाहकार केदारप्रसाद गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका उपाध्यक्ष खिल गिरी ‘राजु’ ले स्वागत गरेको कार्यक्रमको सञ्चालन राजन गिरीले गरेका थिए । संस्थामा आहिलेसम्म एकहजार २ सय ९७ जना शेयर सदस्य रहेका छन् ।