विराटनगर ।  खुल्ला सीमा र सहज रूपमा नेपाल प्रवेश गर्न सकिने हुँदा भारतबाट अवैध रूपमा नेपालतर्फ हुने तयारी चाँदीको तस्करी झनै मौलाउँदै गएको छ । खुल्ला सीमाको फाइदा उठाउँदै तस्करहरुले तयारी चाँदीको गहना नेपालमा अवैध रूपमा भिœयाउने गरेका हुन् । तयारी चाँदीका गहना नेपालमाभन्दा भारतमा सस्तो पर्ने भएकाले भारतीय व्यापारीले नेपालमा तस्करी गर्ने गरेका हुन् । तयारी चाँदीका गहनामा ज्याला कम पर्ने र भनेको बेलामा चाँडो तयारी हुने भएकाले नेपालमा तस्करी हुने गरेको प्रहरी अधिकारीहरु बताउँछन् । तस्करले प्रहरीको आँखा छल्दै अवैध रूपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको पाँच किलो तीन सय ग्राम चाँदीका गरगहनासहित एक भारतीय नागरिकलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । विराटनगर महानगरपालिका –१५ स्थित भन्सार कार्यालयको दुई नम्बर ढाटबाट सशस्त्र प्रहरी बल हेड क्वार्टर (राजश्व तथा भन्सार गस्ती सुरक्षा) को टोलीले चाँदीसहित भारतीय नगरिकलाई पक्राउ गरेको हो । प्रहरीले भारतको अररिया जिल्ला जोगवनी पञ्चायत–१५ का ४० वर्षीय बलराम सिंहलाई अवैध रूपमा भारतबाट तयारी चाँदी नेपालतर्फ ल्याउँदै गर्दा पक्राउ गरिएको सशस्त्र प्रहरी बलका डीएसपी सुरेन्द्रराज रञ्जितले जानकारी दिए । चाँदीका गरगहना तस्करी गरेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा पक्राउ परेका रञ्जितका साथबाट चाँदीका २० वटा औंठी, ८२ वटा हातमा लगाउने पञ्जा, १५ जोडी पाउजु, ६० वटा सिक्री, पुरुषले लगाउने ५५ वटा ब्रासलेट र महिलाले लगाउने ४५ वटा ब्रासलेट बरामद भएको डीएसपी रञ्जितले बताए । उनका अनुसार शरीरमा फिट गरेर चाँदीका गरगहना ल्याउँदै गर्दा पक्राउ परेका भारतीय नागरिक र उनका साथबाट बरामद भएको चाँदी आवश्यक कारबाहीका लागि बिहीबार विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ । भारतमा चाँदीको गरगहना बनाउँदाको ज्याला नेपालमाभन्दा ३ देखि ४ चार सय रुपैयाँसम्म सस्तो हुने र डिजाइनसमेत राम्रो हुने भएकाले तयारी चाँदीको तस्करी नेपालतर्फ मौलाएको प्रहरी बताउँछ । इलाका प्रहरी कार्यालय रानी विराटनगरले विभिन्न मितिमा चार पटकमा ३ केजी ३९ तोला अवैध चाँदी भारतबाट नेपाल ल्याउँदै गर्दा बरामद गरेको प्रहरीको अभिलेखले देखाएको छ । विराटनगरका सुन–चाँदी व्यापारीहरुले काँचो चाँदी लुकाई छिपाई भारत पु¥याउने र आकर्षक गरगहना बनाएर अवैध रूपमा नेपाल भिœयाउने गरेको जानकारहरु बताउँछन् । बरामद गरेको अवैध चाँदीका सामग्रीहरु विराटनगरमा सुन–चाँदी पसलका व्यवसायीहरूले भरिया प्रयोग गरेर अर्डरअनुसार ल्याउने गरेको स्रोतको दाबी छ ।