पथरी । कानेपोखरी गाउँपालिका स्तरीय संस्थागत विद्यालयको छाता सङ्गठन ‘कानेपोखरी कलष्टर’ गठन भएको छ । बुधबार कानेपोखरी गाउँपालिका–४, स्थित रमाइलोको बाल जगत बोर्डिङ स्कुलमा भएको संस्थापकहरूको भेलाले कलष्टरको अध्यक्षमा दानबहादुर बस्नेत रहने गरी ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । भेलाले उपाध्यक्षमा दिनेश सुब्बा लिम्बू, सचिवमा दिपक चौलागाईं र कोषाध्यक्षमा मनकुमारी गुरुङ चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा राजेश कार्की, महेन्द्र बोहोरा, टेकेन्द्र बास्तोला, एमबी थापामगर, नन्दकुमार राजवंशी, राजेन्द्र भण्डारी र विजय किस्कु छन् । कानेपोखरीमा जिल्लागत प्रतिनिधित्व गरेको कानेपोखरी गाउँपालिकाभित्र अहिले १९ वटा विद्यालय सञ्चालनमा छन् । जसमध्ये पल एकेडेमी, रमाइलो बालजगत कक्षा १० सम्म सञ्चालनमा छन् भने पिनाकल ज्ञान मन्दिर विद्यालय कक्षा १२ सम्म सञ्चालनमा छ । स्थानीय सरकारले संस्थागत विद्यालयप्रति विभेदकारी व्यवहार गरेकाले सङ्गठित हुनु परेको अध्यक्ष बस्नेतले बताए । संस्थागत विद्यालयप्रति धरौटी रकम धेरै बढाएको बारे, धरौटी रकम गाउँपालिकाको नाममा सञ्चालन गर्नु पर्ने र कक्षा थपमा अवस्था हेरेर सञ्चालन भएको जति स्वीकृत दिनु पर्नेलगायत विषयमा मुद्दा उठान गर्नुपर्ने आवश्यकता रहेको अध्यक्ष बस्नेतले बताए ।