धरान । गाईजात्रामा स्थानीय बिदा माग गर्दै नेवार एकता समाज धरानले स्थानीय सरकारलाई ज्ञापन–पत्र बुझाएको छ । समाजले बिहीबार बिहान धरान उपमहानगरका प्रशासकीय अधिकृत सुमन घिमिरेलाई ज्ञापन–पत्र बुझाएको हो । यो पटक गाईजात्रा भदौ ११ गते परेको छ । समाजका अध्यक्ष विशाल श्रेष्ठले स्थानीय बिदाको माग गर्दै ज्ञापन–पत्र बुझाएको बताए । ज्ञापन–पत्र बुझ्दै प्रशासकीय अधिकृत घिमिरेलेले आफूले कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीलाई यस विषयमा जानकारी गराउने बताए । २०६८ को जनगणना अनुसार धरानमा नेवारको जनसङ्ख्या १५ हजार २३७ जना रहेको छ । एक वर्षभित्र दिवंगत् भएका आफन्तहरूको सम्झनामा गाईजात्रा निकालिने गरिएको छ । यो प्रचलन प्रताप मल्लले शुरुवात गरेका हुन् । मृत छोराको शोकमा डुबेकी रानीको मन बहलाउनका लागि प्रताप मल्लले गाईजात्राको शुरुवात गरेको इतिहास छ ।