पानवारी । नेपाल यातायात संयुक्त मजदुर सङ्घको दोस्रो साधारणसभा बिहीबार धरानमा सम्पन्न भएको छ । साधारणसभाले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । साधारणसभाबाट केन्द्रीय उपाध्यक्षमा सरोज राई, विश्व तामाङ, अमृत बोहोरा र तारा शाक्य चयन भएका छन् भने केन्द्रीय सचिवमा कृष्णप्रसाद काफ्ले चयन भएका छन् । त्यस्तै केन्द्रीय सदस्यहरुमा दुर्गाबहादुर लिम्बू, प्रतिमा तामाङ लगायत ७ सदस्य थप भएका छन् । २०७३ साउनमा गठन भएको नेपाल यातायात संयुक्त मजदुर सङ्घको दोस्रो साधारण सभाले रिक्त रहेको केन्द्रीय पदाधिकारी तथा सदस्यहरु चयन गरी समितिलाई पूर्णता दिएको हो । समितिले पूर्णता पाएसँगै २१ सदस्यीय भएको छ । साधारणसभामा समितिले आ.व. २०७४÷०७५ को आय–व्यय प्रस्तुत गरेको थियो । समितिले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै मजदुरका पक्षमा गरिएका सम्पूर्ण कामको विवरण समेत कार्यक्रममा प्रस्तुत गरेको थियो । साधारणसभाले अहिले ल्याइएका केही कानूनहरु मजदुरको हितमा नभएको भन्दै संशोधनको मागसमेत गरेको अध्यक्ष भण्डारी बताउँछन् ।