बेलबारी । मोरङको बेलबारी–२ निवासी अपाङ्ग राजकुमार राईको उपचारको लागि सङ्कलित रकम स्थानीय सहयोग समितिले बिहीबार सार्वजनिक गरेको छ । बेलबारी नगरपालिका वडा नं. २ लालभित्तीस्थित आदर्शटोल विकास समितिले राजकुमार राईको उपचारको लागि सहयोग सङ्कलन गरेको थियो । समितिले कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी हिसाब सार्वजनिक गरेको छ । राजकुमार राईको उपचारको लागि १ लाख ३० हजार ५ सय १९ रुपैयाँ सङ्कलन भएको समितिका अध्यक्ष रञ्जित गुरुङले बताए । त्यसैगरी ९९ हजार ८ सय १२ रुपैयाँ खर्च भएको हिसाब सार्वजनिक गरेको छ । सहयोग सङ्कलन अभियानमा स्थानीय सामुदायिक वन, सङ्घ–संस्था, टोल विकास समिति, स्थानीय र प्रवासमा रहेका महानुभावहरुले सहयोग गरेका थिए । राजकुमार राई केराबारीमा कष्टकर जीवन व्यतित गरिरहेको अवस्थामा स्थानीय जनप्रतिनिधिहरुले उद्धार गरी उपचार थालेका थिए । उनको स्वास्थ्य स्थिति निकै कमजोर भएपछि शनिबार लालभित्तीमा ल्याइएको थियो । उनको आइतबार निधन भएको थियो । त्यसैगरी राजकुमारकी दिदी देशमाया राई पनि बिचल्ली अवस्थामा रहेकी छन् । उनलाई स्थानीय समाजले कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा समितिले छलफल चलाएको छ ।