विराटनगर। मोरङ व्यापार सङ्घले जिल्लामा रहेको शाखा कार्यालयबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यालयले सातवटा शाखाहरुमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा कार्य प्रगति विवरण र आगामी कार्य योजनाहरुबारे जानकारी गराइयो । कार्यक्रममा केराबारी व्यापार प्रबन्ध समितिका अध्यक्ष चरनसिंह विकले मोरङको पर्यटकीय गन्तव्य ‘जेफाले’ लाई पर्यटकीय स्थलको रूपमा विकास गर्नुपर्नेमा जोड दिए । लेटाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष मित्र विमलीले पर्यटन विकासको प्रबल सम्भावना रहेको क्षेत्रमा लगानी गर्नुपर्ने बताए । त्यस्तै डाँगीहाट व्यापार प्रबन्ध समितिका अध्यक्ष विवेक मिश्रले सङ्घको पहलबाट सरकारलाई ब्याज घटाउन पहल गर्नुपर्ने बताए । कोशी हरैंचाका महासचिव सन्तोष बान्तवाले व्यापारीहरुको लगानी सुरक्षित गर्नेखालको सरकारले नीति ल्यानुपर्नेमा जोड दिए । त्यसको लागि व्यापार सङ्घले पहल गर्नुपर्ने बताए । पूर्व अध्यक्ष भोलेश्वर दुलालले व्यापार सङ्घले आफ्ना शाखाहरुको विकास गर्न विशेष भूमिका खेल्नुपर्ने बताए । मोरङ व्यापार सङ्घको अध्यक्षमा पवनकुमार सारडाले उद्योगी व्यापारीहरुको आपसी सम्बन्ध अझ बढी सुदृढ बनाएर अगाडि बढाउने बताए । उनले चुनौतीभन्दा अवसर बढी भएको यस क्षेत्रमा अवसरको खोजी गरी नआत्तिइकन अघि बढ्न व्यापारीहरुलाई आग्रह गरे । मोरङ व्यापार सङ्घमा आठवटा शाखाहरु रहेकोमा थप ३ वटा स्थानीय उद्योग वाणिज्य सङ्घ/संस्थाहरु पनि सङ्घमा शाखाको रुपमा आबद्ध रहेका छन् ।