धनकुटा/धनकुटा नगरपालिकाले आ.व. ०७४/०७५ मा सञ्चालन गरेका विविध योजना तथा कार्यक्रमको एक औपचारिक समारोहकाबीच प्रगति समीक्षा गरेको छ । जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टङ्कबहादुर चौहानको प्रमुख आतिथ्यमा सम्पन्न वार्षिक प्रगति समीक्षा कार्यक्रममा नगरपालिकाले आ.व.०७४/०७५ मा सञ्चालन गरेको बजेट कार्यक्रमको विस्तृत विवरणसहित आय–व्यय प्रस्तुत गरिएको थियो । सो अवसरमा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकादत्त राईले आ.व.०७४/०७५ मा आन्तरिक आयतर्फ २ करोड ३१ लाख ४९ हजार २ सय ६८ रुपैयाँ, वाह्य आयतर्फ ४८ करोड ३० लाख ८१ हजार ९ सय ९७ रुपैयाँ, वित्तीय समानीकरणतर्फ १७ करोड ६३ लाख ८८ हजार, सशर्त अनुदान सामाजिक सुरक्षा कार्यक्रमको लागि ४ करोड ३४ लाख २४ हजार र अन्य सशर्त अनुदान गतवर्षको मौजुदासहित ५० करोड ६२ लाख ३१ हजार २ सय ६५ रुपैयाँ रहेको जानकारी दिएका छन् ।

त्यसैगरी धनकुटा नगरपालिकाको व्ययतर्फ चालु खर्च २७ करोड ११ लाख १० हजार २ सय ४१ रुपैयाँ, प्रशासनिक खर्चतर्फ ४ करोड ९४ लाख ३४ हजार २ सय ४१ रुपैयाँ, सशर्त अनुदान सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत ४ करोड ५ लाख ८७ हजार ६ सय रुपैयाँ, सशर्त अनुदान एलजीसिडिपी र अन्य गरी १६ लाख २८ हजार ७ सय ५८ रुपैयाँ रहेको प्रमुख प्रशासकीय अधिकृत टीकादत्त राईले बताएका छन् । त्यसैगरी आ.व.०७४/०७५ मा धनकुटा नगरपालिकाको कुल बजेट कार्यक्रममध्ये १ करोड १५ लाख ६८ हजार ३ सय २ रुपैयाँ भने फ्रिज भएको राईले बताएका छन् । पुँजीगत खर्चतर्फ २३ करोड १ लाख ३० हजार २ सय ९ रुपैयाँ गरी जम्मा खर्च व्यय ५० करोड १२ लाख ४० हजार ४ सय ५० रुपैयाँ भएको प्रमुख प्रशासकीय अधिकृत राईले स्पष्ट पारेका छन् । आ.व.०७४/०७५ मा ४९ लाख ९० हजार ८ सय १४ रुपैयाँ सञ्चित कोष मौजुदा रहेको पनि बताइएको छ । सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत राईले आ.व.०७४/०७५ मा ३ सय ८७ वटा भौतिक पूर्वाधारतर्फका योजनाहरु सञ्चालन भएकोमा ५ लाखभन्दा कमका ३ सय ३८ वटा रहेको बताए । त्यसैगरी ५ लाख १५ लाखसम्मका ३० वटा, १५ देखि ५० लाखसम्मका १७ वटा र ५० लाखभन्दा माथिका २ वटा रहेको बताइएको छ । जसमध्ये कुल नगरस्तरीय योजनाहरु २९ वटा, वडास्तरीय योजनाहरु २ सय ७३ वटा, अन्य निर्माण सुधारका ७६ वटा, प्रदेश सरकारबाट ६ वटा र जिल्ला समन्वय समिति धनकुटाको सहयोगमा ६ वटा कार्यक्रमहरु सम्पन्न भएका छन् ।

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको अध्यक्षतामा सम्पन्न वार्षिक समिक्षा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टङ्कबहादुर चौहान, प्रमुख जिल्ला अधिकारी सीताराम कार्की, नेकपाका नेता अर्जुन छाराहाङ, काङ्ग्रेसका नेता रोशन श्रेष्ठ, उद्योग वाणिज्य सङ्घ धनकुटाका अध्यक्ष उमेश घिमिरेलगायतले बजेट तथा कार्यक्रम प्रभावकारी भएको भन्दै प्रतिक्रिया दिएका थिए । सो अवसरमा उनीहरुले धनकुटा नगरपालिकाले शिक्षा, स्वास्थ्य र कृषि पहिलो प्राथमिकता दिएको भन्दै धन्यवादसमेत ज्ञापन गरेका थिए । साथै उनीहरुले शहरी क्षेत्रमा पर्यटन र ग्रामीण क्षेत्रमा व्यवसायिक कृषि खेतीमा जोड दिएको भन्दै नगरपालिकालाई धन्यवादसमेत दिएका थिए । सो अवसरमा धनकुटा नगरपालिका वडा नं. ९ रुद्रबारीका सेवाग्राही सन्तोष मगरले नगरपालिकाले फलफूलको बिरुवा वितरण गर्दा कसैलाई काखा र कसैलाई पाखा नगरी वितरण गरेमा सबै कृषकले समान हैसियत पाउने सुझाव दिए ।

कार्यक्रममा हालै मात्र सरुवा भई धनकुटा आएका धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी सीताराम कार्की र जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टङ्कबहादुर चौहानलाई खदा ओढाएर स्वागत एवम् सम्मान गरिएको थियो । सो अवसरमा नगरप्रमुख चिन्तन तामाङले मायाको चिनोसमेत प्रदान गरेका थिए । सो अवसरमा कार्यक्रमको सञ्चालन नगरपालिकाका सूचना अधिकारी डम्बर रोगुले गरेका थिए भने स्वागतमन्तव्य प्रवक्ता जम्शेर छाराहाङले गरेका थिए । कार्यक्रममा वडाध्यक्षहरु, वडासदस्यहरु र सरोकारवाला निकायका प्रमुख एवम् प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।