इटहरी/ सुँडेनीका कारण इटहरी–११ की अनिसा अधिकारीको मृत्यु भए पनि पीडित परिवारले प्रहरीमा उजुरी नदिँदा घटना ढाकछोप हुने  भएको छ । गर्भवती महिलाको पाठेघरमा हात हाल्ने इटहरी वडा नं. ११ की भसमेनी सरदारकै कारण अनिसाको मृत्यु भएको परिवारले बताए पनि भसमेनी विरुद्ध उजुरी नपर्दा घटनाको छानविन हुन नसकेको प्रहरी बताउँछ । गाउँले तथा आफन्तहरुले भसमेनीकै कारण महिलाको ज्यान गएको भने पनि परिवारले उजुरबाजुर नगर्दा घटना बाहिर नआएको प्रहरी आफै बताउँछ । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिव श्रेष्ठले भने घटना भएको स्थानहरुमा प्रहरी पुगेको भए पनि सुँडेनी बन्ने भसमेनीलाई नभेटेको र पीडित परिवारलेसमेत अहिलेसम्म उजुरी नदिएको  कारण घटना अनुसन्धान  अगाडि नबढेको बताए ।  उनले भने, ‘उजुरी पर्यो भने अनुसन्धान गर्छु ।’  डेढ वर्षअघि इटहरी वडा नं. ११ का १७ वर्षीय सौगात चौधरी र अनिसाबीच फेसबुकमार्फत् चिनजानसँगै भागीविवाह भएको थियो । अनिसाको पेटमा ६ महिनाको  गर्भ थियो ।  मृतक अनिसाकी सासू सुमित्रा चौधरी, ससुरा प्रदीप चौधरी र श्रीमान् सौगात चौधरीले भने सुँडेनीले पाठेघरमा हात हालेर बच्चा चलाएकै कारण ज्यान गएको बताउँदै आएका  छन् भने सुँडेनी पनि गाउँमा आएकी छैनन् ।