पथरीशनिश्चरे । चालिस वर्ष नाघेको उम्मेद्वारलाई झापाको शिवसताक्षी नगरपालिका १ स्थित लक्ष्मीनारायण माध्यामिक विद्यालय धरमपुरमा ‘सेटिङ्ग’मा शिक्षक नियुक्त गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

उमेरको हद म्याद ४० वर्ष नाघेकी दमककी जीवनकुमारी सापकोटाको नियुक्ती बदरको माग गर्दै सापकोटाका प्रतिष्पर्धीहरु लेखनाथ सुवेदी, नईन्द्रप्रसाद आचार्य र दिनेश काफ्लेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीमा उजुरी गरेका हुन् ।

उनीहरुले ५३ वर्षीया सापकोटाको नियुक्ति शिक्षा नियमावली २०२८ को नवौं संसोधन विपरित भएको जिकिर गर्दै त्यसको खारेजीको माग गरेका छन् । सापकोटाको उम्मेद्वारी र नियुक्ती कानूनसम्मत नभएको भन्दै खारेजीको निवेदन विद्यालयमा दिँदा प्रधानाध्यापक खगेन्द्रबहादुर दहालले दर्ता गर्न मानेनन् । दर्ता नगर्ने कारण खुलाएर निवेदनमा दरपीट पनि गरेनन् ।

सो विषयमा सुनुवाई नभएपछि आफुहरुले अख्यियारमा भदौ ४ गते उजुरी गर्नुपरेको उजुरकर्तामध्येका लेखनाथको भनाई छ । उनीहरुले अख्तियारका साथै जिल्ला शिक्षा विकास तथा समन्वय इकाई, शिवसताक्षी नगरपालिका शिक्षा शाखामा समेत उजुरी गरेका छन् ।

विद्यालयले ०७५ साउन २० गते माध्यामिक तहका लागि नेपाली विषय शिक्षकको करार सेवा सम्बन्धी विज्ञापन खुलाएको थियो । ६ जनाको आवेदन आएकोमा गत सोमबार भएको परीक्षाबाट विगत ५ वर्षदेखि सो विद्यालयमा निजी स्रोतमा काम गरिरहेकी नेकपा निकट सापकोटालाई छानिएको थियो । अस्थाई दरबन्दी बिनाका उम्मेद्वारले त्यस्तो पदको खुल्ला विज्ञापनमा दरखास्त दिनै नपाउने उल्लेख छ ।

विद्यालयका प्रधानाध्यापक दाहाल, विद्यालय व्यवस्थान समितिका अध्यक्ष वेनु अधिकारी, दुधे श्रोत केन्द्र सहितले सापकोटा बाहेकका निवेदन लिन समेत नमानिरहेको परीक्षार्थी मध्येका नईन्द्रप्रसाद आचार्यले खुलाए । उनले भने ‘विद्यालय व्यवस्थापन समितिका एक सदस्यले हामीले काम गरिहेको मानिसलाई व्यवस्थापन गर्न विज्ञापन खुलाएको हो, तपाईहरुले दुःख मात्र पाउनु हुन्छ भनेर निवेदन दर्ता गर्न नमान्दा नमान्दै दर्ता गराएँ ।’

पछि प्रअ दहालले पनि आफुहरुले दरखास्त वापतको १ हजार ५ सय रकम विद्यालयका लागि सहयोग भएको भन्दै फोनमा जानकारी गराएको उनले सुनाए ।

जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई झापाका ईकाई प्रमुख योगेन्द्रप्रसाद वरालले त्यस विषयमा आफुहरुले पनि बुझ्ने जनाए । तर उनले निवेदन दर्ता नगरेर प्रअ दाहालबाट कमजोरी हुन पुगेको उल्लेख गरे । उनले भने निवेदन जस्तो सुकै प्रकृतिको भएपनि दर्ता गर्नुपर्ने बताए ।

प्रअ दाहालले भनें सामुदायिक उमावि शिक्षक व्यवस्थापन निर्देशिका २०७१ को परिच्छेद ३ को उपनियम ३३ अनुसार मापदण्ड पुरा गरेकाले सापकोटाको दरखास्त खारेज गर्नु नपर्ने जिकिर गरे । उच्चमाविमा कार्यरतका लागि उमेरको हदवन्दी लाग्दैन भनेर जिल्लाले पनि भनेको र नगरपालिकाले पनि त्यसमा सहमति जनाएको उनको भनाई छ ।

तर, शिक्षा विद्का अनुसार उच्च माध्यमिक शिक्षा खारेज भएकाले यो नियम मौजुदा नियमसंग बाझिएको धारणा छ । नगरपालिकाले पनि त्यसखाले निर्णयको तयारी गराएर आस्थाका आधारमा नियुक्ती गरी कानूनी प्रक्रिया उल्लंघन गरेको टिप्पणी छ ।