भद्रपुर । गएराती चन्द्रगढी बजारका पाँचवटा पसल चोरी भएपछि प्रहरीलाई सुरक्षा चुनौती बढेको छ । जिल्ला प्रहरी कार्यालय झापादेखि चोरी भएको स्थानको दुरी अन्दाजी दुइसय मीटर टाढा छ । चौविस घण्टा लेखनाथ चोकमा स्थायी र गाडीमा गस्ती भइरहेपनि व्यस्त बजारभित्र चोरी भएपछि प्रहरी अतालिएको छ ।

गस्तीमा हिडेको गाडी लेखनाथचोक पश्चिम कौवाखाडी नजिकै राखेर सुरक्षाकर्मी सुतेका कारण चोरी भएको हुनसक्ने प्रत्यक्षदर्शीले आरोप लगाएका छन् । यो भन्दा अघिपनि चन्द्रगढी बजारमा चोरी भएको घटना छ । प्रहरीले हालसम्म चोरीमा संलग्नलाइ पक्राउ गर्न नसकेको स्थानीय बताउँछन् । सवुत प्रमाण दिदा समेत प्रहरीले पक्राउ नगरेकोमा प्रहरीमाथिको विश्वसिनियता हराएको पीडितले गुनासो गरे । साविक चन्द्रगढी गाविस हाल भद्रपुर १० चन्द्रगढी बजारमा गएराती भएको श्रृङ्खलाबद्ध चोरीमा, दुइ टेर्लस, एक/एक किराना, कोल्ड सेन्टर र फ्रेस हाउस रहेको प्रहरीले जनाएको छ ।

चोरले चौहान किराना पसलको सटर फुटाएर ९ हजारभन्दा माथि नगद लगेको छ भने दुइ क्यारेट अण्डा नष्ट गरिदिएको पीडित व्यवसायीले बताए । त्यसैगरी चन्द्रगढी फ्रेस हाउसबाट ४५ हजार ९० रुपैया नगद लगेको व्यवसायी मोहमद् इस्माइलले बताए । ढोकाको ताला फुटाएर पछाडिबाट पसेको चोरले दिनभर बिक्री गरेको नगद लगेको उनले जनाए । चोरी गर्नेलाइ प्रहरीले फेला पार्नु पर्ने उनको माग छ ।

श्रेष्ठ कोल्ड सेन्टरको गोदाम र फ्रेस हाउससँगै रहेका छन् । कोल्ड सेन्टरको भने कुनै नोक्सान नभएको व्यवसायी लुसन श्रेष्ठले बताए । गोदामको ताला फुटाएपनि सामान नहराएको उनले बताए । श्रेष्ठले राखेको सीसी क्यामेराको फुटेज प्रहरीले लगेका कारण चोर पहिचान हुनसक्ने पीडितले आशा गरेका छन् । चोरले भोजपुरे र एल टी टेर्लसको ताला फुटाएको छ भने अन्य नोक्सान नगरेको उनिहरुले बताए । चोरी भएको क्षेत्र एकसय मीटर वरिपरी भित्र छन् ।

व्यस्त बजारमा यसरी चोरी हुन थालेपछि समस्या भएको चौहान किरानाका सञ्चालक रविन कुमार चौहानले बताए । टोल टोलमा प्रहरी पठाएर शान्ती सुरक्षा दिनु पर्ने उनले बताए । चोरलाइ जसरी पनि पत्ता लगाउन उनले अनुरोध गरेका छन् । बजारमा त यस्तो छ भने गाउँको हालत के होला ? उनले भने ।

चोरीमा संलग्नको खोजी कार्य भइरहेको जिल्लाका डिएसपी तथा प्रहरी प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जनाए । सीसी क्यामेराको फुटेजमा पहिचान हुननसकेको एकजना देखिएको उनले बताए । रात्रीको समयमा सङ्कास्पद क्षेत्रमा सादा पोसाकका प्रहरी परिचालन गरिने उनले जानकारी दिए ।