पानवारी । खम्बुवान राष्ट्रिय मोर्चाबाट अलग भएर किरात खम्बुवान राष्ट्रिय साझा पार्टी घोषणा भएको छ । शुक्रबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी नवगठित पार्टीका संयोजक भूपि कोयीले खम्बुवान राष्ट्रिय मोर्चाबाट अलग भएको बताएका छन् । उनले खम्बुवान राष्ट्रिय मोर्चाका नेता रामकुमार (आरके) राईले पाटीमा मनोमानी गरेको भन्दै आफुहरु बाध्य भएर अलग हुनुपरेको बताए । पत्रकार सम्मेलनमा किरात खम्बुवान राष्ट्रिय साझा पार्टीका संयोजक भूपि कोयीले भने –‘२६ वर्षदेखि पाटीले उठाउदै आएको मूल मुद्दालाई किनारा लगाएर आरके राईले व्यक्तिगत र नीजि सम्पत्ति जस्तो गरेर पार्टी चलाएकाले हामी अलग हुन बाध्य भएका हौ ।’ निर्वाचन अघि पार्टीलाई राजपमा समाहित गरेको भन्दै असन्तुष्टी समेत व्यक्त गरे । उनले पाटीका साधारण सदस्य समेत नभएका व्यक्तिलाई स्थायी कमिटिमा राखेको प्रति समेत आपत्ति जनाएका थिए । नवगठित पाटीमा खरामोका कार्यवाहक अध्यक्ष समेत भइसकेका भूपि कोयी राईको संयोजकत्वमा ७५ सदस्यी केन्द्रीय कमिटि गठन भएको छ । त्यस्तै पाटीको सचिवमा विक्रम राई, सह सचिव रमेश राई, प्रवक्ता देवीबहादुर राई, कोषाध्यक्षः खगेन्द्र प्रसाद राई र सहकोषाध्यक्षमा भद्रकुमारी राई रहेका छन् । संयोजक कोयीका अनुसार खरामोका ७५ भन्दा बढी केन्द्रीय सदस्य नयाँ पाटीमा आएका छन् जसमा अधिकांश युवा नेता रहेका छन् ।