धनकुटा/ धनकुटा नगरपालिकाले आ.व.०७५/०७६ को आन्तरिक आय सङ्कलन गर्नको लागि निर्धारण गरेको विभिन्न कर, शुल्क, दस्तुर, भाडा तथा ठेक्का आदिको दररेट कायम गर्दा नगरवासीको भावनालाई सम्बोधन गरेर मात्र कायम गरिएको जनाएको छ । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले आ.व.०७४/७५ को वार्षिक प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै चालु आर्थिक वर्षमा नगरपालिकाले लिने हरेक करको दररेटमा नगरवासीको भावनालाई सम्बोधन गरेर मात्र कायम गरिएको बताएका हुन् । उनले सबैभन्दा बढी उठ्ने एकीकृत सम्पत्ति करमा यो वर्ष एक प्रतिशत पनि वृद्धि नगरिएको बताए ।
नगरपालिकाका कर अधिकृत राजु गुरागाईंका अनुसार व्यवसायजन्य साधन करमा भने २० प्रतिशतले वृद्धि गरिएको जनाएका छन् । क श्रेणीको खुद्रा किराना पसललाई अघिल्लो वर्ष नवीकरण शुल्क १ हजार कायम गरिएको थियो भने यो वर्ष १ हजार २ सय कायम गरिएको छ । त्यसैगरी ग श्रेणीको अघिल्लो वर्ष ८ सय थियो भने यो वर्ष १ हजार र ग श्रेणीको खुद्रा किराना पसललाई अघिल्लो वर्ष ५ सय वार्षिक नवीकरण शुल्क कायम गरिएकोमा यो वर्ष ८ सय कायम गरिएको छ । क श्रेणीको थोक किराना पसलको अघिल्लो वर्ष १ हजार ५ सय थियो भने यो वर्ष २ हजार, ख श्रेणीको थोक किराना पसललाई अघिल्लो वर्ष १ हजार थियो भने यो वर्ष १ हजार ५ सय कायम गरिएको छ । त्यसैगरी होटल एण्ड लज व्यवसायमा क श्रेणीको लागि अघिल्लो वर्ष १ हजार ८ सय थियो भने यो वर्ष २ हजार, ख श्रेणीको लागि १ हजार ४ सयमा यो वर्ष १ हजार ६ सय र ग श्रेणीको अघिल्लो वर्ष ९ सय रहेकोमा यो वर्ष १ हजार, २ सय कायम गरिएको कर अधिकृत गुरागाईंले बताए । त्यसैगरी गरी क श्रेणीको होटल र रेष्टुरेण्टलाई अघिल्लो वर्ष १ हजार ५ सय वार्षिक नवीकरण शुल्क रहेकोमा यो वर्ष पनि त्यत्ति नै कायम गरिएको छ भने ख श्रेणीको होटल व्यवसायीलाई भने ८ सयदेखि वृद्धि गरेर १ हजार २ सय कायम गरिएको छ । ग श्रेणीको होटल रेष्टुरेण्टलाई भने अघिल्लो वर्षकै ८ सय नै यो वर्ष पनि कायम गरिएको छ ।
यता क र ख श्रेणीको फेन्सी तथा तयारी पोसाकमा अघिल्लो वर्ष कायम गरिएको वार्षिक करको दर १ हजार ५ सय र १ हजार २ सय यो वर्ष पनि त्यति नै कायम गरिएको छ भने ग श्रेणीको फेन्सी तथा तयारी पोसाकलाई अघिल्लो वर्षको तुलनामा २ सय रुपैयाँ वृद्धि गरी १ हजार कायम गरिएको छ । कपडा पसलका तीनै श्रेणीको वार्षिक करको दररेट अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले बढाई यो वर्ष २ हजार, १५ सय र १ हजार कायम गरिएको छ । निर्माण सामग्री र हार्डवेयर पसलका तीनै श्रेणीको अघिल्लो वर्षकै दररेट ५ हजार, ३ हजार ५ सय र २ हजार ५ सय कायम गरिएको छ । शृङ्गार पसलमा अघिल्लो वर्ष क श्रेणीको पसललाई १ हजार २ सयमा २० प्रतिशत वृद्धि गरी १ हजार ५ सय, ख र ग श्रेणीको १ हजार र ६ सयबाट बढाई यो वर्ष १ हजार २ सय र ८ सय कायम गरिएको छ ।
यसरी सर्सती करको वृद्धि दर हेर्दा २० प्रतिसतको हाराहारीमा वृद्धि भएको देखिन्छ । धनकुटा नगरपालिकावासीले कर वृद्धिका विरुद्ध कुनै खालको प्रतिक्रिया जनाएका छैनन् । उद्योग वाणिज्य सङ्घ धनकुटाका अध्यक्ष उमेश घिमिरेले नगरपालिकाले लगाउने कर भनेको नगरकै विकासको लागि हुने भएकाले हरेक व्यवसायीले कर तिर्न हिच्किचाउन नहुने बताए । धनकुटा–७ हुलाकटोलस्थित बाजे किराना पसलका प्रोप्राइटर बद्री पौडेलले कर हरेक नगरवासीले तिर्नु पर्र्ने तर, सही सदुपयोग हुनुपर्ने बताए । यसैबीच नेपाली काङ्ग्रेस धनकुटाले जिल्लाका ७ वटै स्थानीय तहले करवृद्धि गरी जनताको ढाड सेक्ने काम गरेको भन्दै वृद्धि गरेर जनताबाट लिएको कर फिर्ता गर्नुपर्ने भन्दै ज्ञापन–पत्र बुझाएको छ ।