भद्रपुर/ बिहीबार राति चन्द्रगढी बजारका पाँचओटा पसलमा चोरी भएपछि प्रहरीलाई सुरक्षा चुनौती बढेको छ । जिल्ला प्रहरी कार्यालय झापादेखि चोरी भएको स्थानको दूरी अन्दाजी दुईसय मिटर टाढा छ । चौबीसै घण्टा लेखनाथ चोकमा स्थायी र गाडीमा गस्ती भइरहे पनि व्यस्त बजारभित्र चोरी भएपछि प्रहरी अत्ताल्लिएको छ । गस्तीमा हिँडेको गाडी लेखनाथचोक पश्चिम कौवाखाडी नजिकै राखेर सुरक्षाकर्मी सुतेका कारण चोरी भएको हुनसक्ने प्रत्यक्षदर्शीले आरोप लगाएका छन् । योभन्दा अघि पनि चन्द्रगढी बजारमा चोरी भएको घटना छ । प्रहरीले हालसम्म चोरीमा संलग्नलाई पक्राउ गर्न नसकेको स्थानीय बताउँछन् । सबुत प्रमाण दिँदासमेत प्रहरीले पक्राउ नगरेकोमा प्रहरीमाथिको विश्वसनीयता हराएको पीडितले गुनासो गरे ।
साविक चन्द्रगढी गाविस हाल भद्रपुर–१० चन्द्रगढी बजारमा बिहीबार राति भएको शृङ्खलाबद्ध चोरीमा, दुई टेलर्स, एक–एक किराना, कोल्ड सेण्टर र फ्रेस हाउस रहेको प्रहरीले जनाएको छ । चोरले चौहान किराना पसलको सटर फुटाएर ९ हजारभन्दा बढी नगद लगेको छ भने दुई क्यारेट अण्डा नष्ट गरिदिएको पीडित व्यवसायीले बताए । त्यसैगरी चन्द्रगढी फ्रेस हाउसबाट ४५ हजार ९० रुपैयाँ नगद लगेको व्यवसायी मोहम्मद इस्माइलले बताए । ढोकाको ताला फुटाएर पछाडिबाट पसेको चोरले दिनभर बिक्री गरेको नगद लगेको उनले जनाए । चोरी गर्नेलाई प्रहरीले फेला पार्नुपर्ने उनको माग छ । श्रेष्ठ कोल्ड सेण्टरको गोदाम र फ्रेस हाउससँगै रहेका छन् । कोल्ड सेण्टरको भने कुनै नोक्सानी नभएको व्यवसायी लुसन श्रेष्ठले बताए ।
गोदामको ताला फुटाए पनि सामान नहराएको उनले बताए । श्रेष्ठले राखेको सिसी क्यामेराको फुटेज प्रहरीले लगेका कारण चोर पहिचान हुनसक्ने पीडितले आशा गरेका छन् । चोरले भोजपुरे र एलटी टेर्लसको ताला फुटाएको छ भने अन्य नोक्सानी नगरेको उनीहरुले बताए । चोरी भएको क्षेत्र एकसय मिटर वरिपरि छन् । व्यस्त बजारमा यसरी चोरी हुन थालेपछि समस्या भएको चौहान किरानाका सञ्चालक रविनकुमार चौहानले बताए । टोल–टोलमा प्रहरी पठाएर शान्ति सुरक्षा दिनुपर्ने बताउँदै उनले चोरलाई जसरी पनि पत्ता लगाउन उनले अनुरोध गरेका छन् । ‘बजारमा त यस्तो छ भने गाउँको हालत के होला ?’–उनले भने । चोरीमा संलग्नको खोजी कार्य भइरहेको जिल्लाका डिएसपी तथा प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जनाए । सिसी क्यामेराको फुटेजमा पहिचान हुन नसकेको एकजना देखिएको उनले बताए । रात्रीको समयमा शङ्कास्पद क्षेत्रमा सादा पोसाकका प्रहरी परिचालन गरिने उनले जानकारी दिए ।