विराटनगर/भारतबाट नेपालतर्फ अवैध रूपमा सिमेन्टको तस्करी हुने गरेको प्रमाण फेला परेको छ ।  नेपालमा भन्दा प्रतिबोरामा ३ देखि ४ सय रुपैयाँसम्म सस्तो पर्ने कारण तस्करी हुने गरेको प्रमाण भेटिएको हो । इलाका प्रहरी कार्यालय रानी विराटनगरले ट्याक्टरमा लोड गरी नेपाल ल्याउँदै गरेको अवस्थामा ठूलो परिमाणमा सिमेन्टसहित एकजना ठेकेदार पक्राउ परेका छन् । विराटनगर–१८ भेडियारीबाट १ सय ५० बोरा सिमेन्टसहित ठेकेदार पङ्कजकुमार यादवलाई इप्रका विराटनगरले पक्राउ गरेको हो । पक्राउपछि सिमेन्ट तस्करी हुने गरेको खुलेको हो । को. १ त ८४५ नम्बरको ट्याक्टरसहित ठेकेदार यादवलाई पक्राउ गरिएको इप्रका रानी विराटनगरका इन्स्पेक्टर सन्तोष निरौलाले बताए ।

भारतमा उत्पादित ‘कङ्क्रिटो फाइभ एड्भान्टेज’ नामक सिमेन्ट ल्याउने क्रममा एक सय ५० बोरा बरामद गरिएको निरौलाले बताए । पक्राउ परेका यादव भारतको बथनाहादेखि मोरङको कटहरीसम्मको निर्माणाधीन रेल–वे लाइनका पेटी ठेकेदार समेत रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ठेकेदार यादवकै सक्रियतामा सिमेन्ट तस्करी हुने गरेको पाइएपछि रेल–वे निर्माणमा समेत तस्करी गरेर ल्याइएको भारतीय सिमेन्टकै प्रयोग हुने गरेको आशङ्कामा थप अनुसन्धान अघि बढाइएको उनले बताए ।

‘अवैध रूपमा चोरबाटोबाट सिमेन्ट ल्याएको देखिएपछि हामीले नियन्त्रणमा लियौं’ रानी प्रहरी प्रमुख निरौलाले भने, ‘बुझ्दै जाँदा भारतबाट तस्करी गरी ल्याएको सिमेन्ट रहेछ । अवैध रूपमा ल्याएको पाइएपछि सिमेन्टसहित ठेकेदार यादवलाई पक्राउ गरिएको हो ।’ ट्याक्टर चालक भने प्रहरीलाई देख्ने बितिक्दै फरार भएको निरौलाले बताए । फरार भएका ट्याक्टर चालकको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ । यादवले शुरूमा सिमेन्ट आफ्नो नभएको दाबी गरिरहे पनि अनुसन्धान गर्दै जाँदा सिमेन्ट यादवकै भएको र उनी लामो समयदेखि सिमेन्ट तस्करीमा संलग्न रहेको खुलेको प्रहरीको भनाइ छ ।

भारतबाट सस्तोमा तस्करीको सिमेन्ट ल्याएर नेपालमा निर्माणाधीन व्यक्तिगत संरचनाका लागि बेच्ने गरेको पाइएको प्रहरीले जनाएको छ । नेपालमा प्रतिबोरा सिमेन्टको मूल्य साढे नौ सय रूपैयाँ पर्दछ । भारतमा साढे पाँच सयदेखि ६ सय रूपैयाँसम्म पर्छ । नेपालमा ल्याउँदा प्रतिबोरा ३ सयदेखि ४ सय रूपैयाँसम्म फाइदा हुने भएकोले भारतबाट नेपालतर्फ तस्करी हुने गरेको प्रहरीका अधिकारीहरू बताउँछन् । पक्राउ परेका यादवले एक पटकमा भारतबाट एक ट्याक्टर सिमेन्ट ल्याएर यहाँ बिक्री गर्दा ४५ हजार रूपैयाँसम्म फाइदा लिने गरेको बताएका छन् ।

प्रहरीले बरामद भएको सिमेन्ट र नियन्त्रणमा लिइएको ट्याक्टरसहित यादवलाई आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ । प्रहरीले यादवलाई ३ लाख ३५ हजार रूपैयाँ मूल्याङ्कन गरेर भन्सारमा बुझाएको रानी प्रहरीले जनाएको छ । विराटनगर भन्सार कार्यालय विराटनगरका सूचना अधिकारी सुशील थापाले सिमेन्ट तस्करी भएको घटना पहिलो भएको बताए । ‘खाद्यान्न, सुपारी, मरिच तस्करी हुँदै आएको थाहा थियो’ उनले भने, ‘म आएको एक वर्ष भयो । यस अवधिमा पहिलो पटक सिमेन्ट तस्करीको मुद्दा आएको छ ।’ भन्सार बुझाएर भारतबाट सिमेन्ट खरिद गरी ल्याउँदा प्रक्रिया झन्झटिलो हुने भएकोले तस्करी हुने गरेको जानकारहरू बताउँछन् ।

सिमेन्ट तस्करी गर्ने यादव यसअघि पनि अवैध रूपमा ढुङ्गा गिट्टीको तस्करीमा संलग्न रहेको पाइएको छ । उनले नेपालका विभिन्न खोलाहरुबाट ढुङ्गा गिट्टी ल्याएर भारतर्फ बिक्री वितरण गर्ने गरेको पाइएको हो । स्थानीयका अनुसार सशस्त्र प्रहरीलाई दैनिक रूपमा ठूलो मात्रामा भइरहेको सिमेन्ट तस्करीका बारेमा जानकारी दिइए पनि नियन्त्रणका लागि चासो नदिएको गुनासो स्थानीय बासिन्दाको छ । खुल्ला सीमानाका भएको कारणले गर्दा विराटनगर–१८ भेडियारीबाट अवैध रूपमा चोरी तस्करीका सामानहरू नेपाल प्रवेश हुने गरेको स्रोतको दाबी छ ।