कञ्चनपुर/ बलात्कारपछि भएको हत्या प्रकरणमा दोषीलाई कारबाही माग्दै थालेको आन्दोलनको क्रममा शुक्रबार प्रहरीको गोली लागेर एक किशोरको ज्यान गएको छ ।
साउन १० गते हराएकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको अवस्थामा भोलिपल्ट शव फेला परेको थियो । त्यस घटनापछि दोषीलाई कारबाहीको माग गर्दै कञ्चनपुरबासी आन्दोलित बनेका थिए । त्यही आन्दोलनको क्रममा प्रहरीको गोली लागेर शुक्रबार १५ वर्षीय चेतन भट्टको मृत्यु भएको हो । गोली लागेलगत्तै उनको मृत्यु भएको प्रहरी प्रशासनले पुष्टि गरेको छ । प्रहरीको गोली लागेर सगुन सुवेदी, दामोदर खत्री, उमेश देउवा र कविन्द्रबहादुर सिंह घाइते बनेको कञ्चनपुरका एसपी कुवेरसिंह कठायतले जानकारी दिए ।
दैनिक आन्दोलन चर्किन थालेपछि स्थानीय प्रशासनले महेन्द्रनगर क्षेत्रमा बिहीबार कफ्र्यू लगाएको थियो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला एसपी नै परिवर्तन गर्दै सरकारले नयाँ प्रजिअ र नयाँ एसपीलाई पठाएको छ ।
किशोरको मृत्युपछि कञ्चनपुरको अवस्था तनावग्रस्त बनेको छ । प्रशासनले ४ र १८ नम्बर वडामा अनिश्चिकालीन कफ्र्यू जारी गरेको छ । अर्को सूचना जारी नभइञ्जेलसम्म कफ्र्यू जारी रहने प्रहरी प्रशासनले जनाएको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालयअघि प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारीले उग्र रूप लिएपछि प्रहरीले गोली चलाउनु परेको पुष्टि गरेको छ ।
प्रहरीले बलात्कारमा संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै स्थानीय असन्तुष्ट बन्दै आएका थिए । यस विषयमा गृह मन्त्रालयले उच्चस्तरीय छानविन समिति गठन गरेको थियो भने समितिले शुक्रबारबाटै काम थालेको थियो । प्रहरीले घटना भएको एक महिना बित्दा पनि दोषी पत्ता लगाउन नसकेको भन्दै स्थानीय आक्रोसित बन्दै आएका छन् ।