पथरीशनिश्चरे/ मोरङको पथरीशनिश्चरे–१० मा भुटानी शरणार्थीका लागि व्यवस्थापन गरेको खानेपानी शरणार्थीको सङ्ख्या कम भएपछि बस्तीमा समेत वितरण हुने भएको छ । शरणार्थी सम्बन्धी राष्ट्रसङ्घीय उच्चायोग (युएनएचसीआर) मार्फत लुथरन विश्व फेडेरेशनले शनिश्चरे शिविरमा रहेको खानेपानी नजिकको बस्तीमा विस्तार गर्नेबारे शुक्रबार सम्झौता गरेको छ । नगरपालिका कार्यालयमा आयोजित एक कार्यक्रमका बीच यृूएनएचसीआरकी दमक प्रमुख अन्ना फेलोसी, लुथरनका पूर्वाञ्चल प्रमुख राजेन्द्रकुमार राउत, नगरपालिका प्रमुख दिलिपकुमार राई र खानेपानी उपभोक्ता समिति अध्यक्ष चन्द्र तामाङबीच सम्झौता–पत्र आदान प्रदान भएको छ ।
शिविरमा रहेको खानेपानी ट्याङ्कीबाट त्यसभन्दा दक्षिण र पश्चिमका बस्तीमा पानी विस्तारका लागि ३५ लाख ५३ हजार ७ सय ३४ रुपैयाँको लागतमा पाइप विस्तारसहित मर्मत सम्भारको काम गर्ने सम्झौतामा उल्लेख छ । जसमध्ये नगरपालिका र स्थानीयका तर्फबाट ११ लाख ४३ हजार ७ सय २८ रुपैयाँ व्यहोरिने जनाइएको छ । त्यहाँ ४ हजार ८ सय ७९ मिटर पाइप बिछ्याइने छ । डिसेम्बरभित्र सो काम सम्पन्न हुनेछ । कार्यक्रममा बोल्दै यूएनएचसीआरकी आन्नाले शरणार्थी र बस्तीबीचको सहकार्य र सद्भाव कायम रहिरहोस् भन्दै विकासको सहश्राब्दी लक्ष्य पछ्याउन यूएनएचसीआरले खानेपानीसहितका कार्यक्रममा सहयोग पु¥याउँदै जाने उल्लेख गरिन् ।
नगर प्रमुख दिलिपकुमार राईले नगरवासीलाई खानेपानीको महत्वपूर्ण उपहार आएको भन्दै खुसी व्यक्त गरे । उनले शिविर र स्थानीयवासीको मागअनुरूप पाइप बिछ्याउनेसँगै खानेपानी ट्याङ्कीसहितका सामग्रीको मर्मत, खानेपानी कर्मचारीको आर्थिक व्यवस्थापनका कुरामा लुथरनले सहयोग पु¥याउनु पर्ने माग राखे । शिविरमा १ लाख ७० हजार लिटर क्षमताका २ ट्याङ्की छन् । २४ हजार जनसङ्ख्याबाट तेस्रो मुलुक पुनर्वास भएपछि शिविरमा हाल १ हजार ४ सय शरणार्थी मात्रै रहेका छन् । बाँकी रहेको पानी बस्तीका ७ सय घर परिवारका लागि वितरणको योजना बनाएको लुथरनका क्षेत्रीय प्रमुख राजेन्द्रकुमार राउतले उल्लेख गरे । उनले खानेपानी सामग्री मर्मतका कुरा कार्यालयले गर्ने सम्झौता–पत्रमा उल्लेख भएको जनाए ।
आयोजित कार्यक्रममा लुथरनले शरणार्थी प्रभावित क्षेत्रको नाताले पथरीशनिश्चरे–१ स्थित पञ्चायत माविका लागि ११ लाख ८४ हजार २ सय ४८ रुपैयाँ बराबरको लागतमा कक्षाकोठा निर्माण गरिदिने सम्झौतासमेत गरेको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष आइतकुमारी तुम्बापो, प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीसहितले सम्झौतामा हस्ताक्षर गरेका छन् ।